पत्रकारिताका चुनौती र भूमिकाबारे सेफर्डमा बहस

काठमाडौं, १४ फागुन । आमसंचार र पत्रकारिता विषय पढाउँदै आइरहेको नयाँवानेश्वर स्थित सेफर्ड कलेजले पत्रकारिताका समसामयिक विषयमा सरोकारवालासँग छलफल र अन्तक्र्रिया गर्ने गरेको छ । यसैक्रममा सोमबार कलेजमा पत्रकारिताका चुनौती र भूमिका विषयमा छलफल कार्यक्रम आयोजना गरियो । सो कार्यक्रमका वक्ताहरुले संचार क्षेत्रमा क्रियाशिल संचारकर्मी र मिडियाका व्यवस्थापकले आफुलाई समय अनुसार परिवर्तन गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा राजनीतिक विश्लेषक तथा नेपाल समयका सम्पादकीय निर्देशक मुमाराम खनालले अहिले डिजिटल मिडियाको समयमा स्रोतको उपलब्धता पर्याप्त भएपनि त्यसलाई अवसरको रुपमा लिन संचारकर्मीहरु चुकेको बताउनुभयो । उहाँले पत्रकारितामा नैतिकता भन्ने चिज हराउँदै गएको बताउँदै यसले पत्रकारलाइ मात्र नभएर पाठकलाई पनि चुनौती खडा भएको बताउनुभयो । उहाँले भन्नुभयो, “पत्रकारिताले उठाउने इस्यूहरु पर्याप्त छन्, तर त्यहाँसम्म पुग्ने प्रयत्न भएको छैन, यो विषयमा बहस शुरु हुन जरुरी छ ।”

सेफर्ड कलेज तथा नेपाल समयका प्रबन्ध निर्देशक तरुणप्रताप साहले संचार माध्यमले कस्ता विषयवस्तु उठान गर्ने र कसरी अगाडि बढ्ने भन्ने कुरामा संचारकर्मी र मिडिया हाउस बीचको समन्वय जरुरी भएको बताउनुभयो । “हामी पत्रकारिताको अध्यापनबाट सक्रिय र यस क्षेत्रमा योगदान दिने जनशक्ति उत्पादन गर्ने अभियानमा छौं,” उहाँले भन्नुभयो,“समग्र पत्रकारितालाई कसरी अगाडि बढाउने भन्ने स्पष्ट सोच बनाउनको लागि साथ दिन हामी तयार छौं ।”
राष्ट्रिय समाचार समितिका कार्यकारी सम्पादक एवम् पूर्व प्रमुख समाचारदाता सुर्यचन्द्र बस्नेतले अहिले पत्रकारितामा तथ्यहरुमा देखिने विचलन हटाएर यसलाइ वस्तुपरक बनाएर पत्रकारिताको विश्वसनीयता बढाउनुपर्ने बताउनुभयो । “तथ्य स्पष्ट नहुँदा पाठक भ्रमित हुने काम हुन्छ, कसैले प्रस्तुत गर्ने गलत तथ्यलाई गलत भन्ने सामथ्र्य राख्नुपर्छ ।”
नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेलले अहिले जो कोहीले पनि एउटा मिडिया मात्र पढेर धारणा बनाउन नसक्ने दुखद अवस्था सृजना भएको बताउनुभयो । “यसले पत्रकारिता प्रतिको विश्वसनीयता हराउँदै गएको छ, अर्को तिर राज्यले स्वतन्त्र पत्रकारितामा हस्तक्षेप गर्दै आएको छ”,उहाँले भन्नुभयो, “पत्रकारले हिँडेको बाटो र प्रवृति गलत छ की भन्नेमा पनि ध्यान दिनुपर्ने वेला आएको छ ।” उहाँले मिडियामा लगानी गर्ने लगानीकर्ताले समेत आफ्नो प्रभाव जमाएर मिडियालाई आफु अनुकुल बनाउन लागेको गुनासो गर्नुभयो ।

महासंघका केन्द्रीय सदस्य राधेश्याम दाहालले पत्रकारिता गर्ने पछिल्लो पुस्ता जिम्मेवार भएर पत्रकारिता गरिरहेको र गर्न सक्षम भएको भएको भन्दै नैतिकता भन्दा पनि नियतले अप्ठ्यारो पारिरहेको बताउनुभयो । उहाँले अहिले मिडिया खोल्नेले पत्रकारिताको हितको लागि भन्दा पनि आफ्नो स्वार्थका लागिम ात्र मिडिया खोलेको आरोप लगाउनुभयो । पत्रकार तिर्थ पौडेलले अहिले आम नागरिकले पत्रकारिता र पत्रकार भन्ने नै को हो भन्ने बुझ्न नसकेको अवस्था रहेको छ भन्नुभयो । “यस्तो हुनुमा पत्रकारिताका एजेण्डा आम नागरिक केन्द्रित नभएर हो कि ? उहाँले भन्नुभयो, “पत्रकारलाई थप प्रशिक्षित र अग्रजले सही बाटो देखाइदिनु पर्यो ।’
पत्रकार बिक्रम गिरीले पत्रकारितामा मिडिया हाउसका मालिकको हाली मुहाली भएकोले मिडिया मालिकले के का लागि मिडिया संचालन गरेको हो स्पष्ट हुनुपर्ने बताउनुभयो । “मिडियालाई गलत तरिकाले प्रयोग गरेर फाइदा उठाउने काम भएको छ,” उहाँले भन्नुभयो, “मिडियाकर्मीले उठाएका एजेण्डालाई संस्थागत गर्ने र प्रोत्साहन गर्ने काम भएको छैन ।”
कार्यक्रममा सेफर्ड कलेजका को अर्डिनेटर कविता शर्माले कार्यक्रमको विषय उठान तथा उद्धेश्यबारे बताउनुभएको थियो । कार्यक्रममा विभिन्न संचार संस्थामा कार्यरत दुई दर्जन पत्रकारको सहभागिता थियो ।

 

Advertisment