नैतिक शिक्षाको जरुरी देखियो ः प्रदेश प्रमुख शेरचन

पोखरा, १० फागुन
गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले नैतिक शिक्षाको जरुरी देखिएको बताउनुभएको छ । पोखरा–१३, लामोडहरस्थित राइजिङ स्टार एकेडेमीको नवनिर्मित भवनको उद्घाटन तथा २१ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शेरचनले देशमा विकसित घटनाक्रमले नैतिक शिक्षाको आवश्यकता खट्किएको उल्लेख गर्नुभयो ।


पूरानो शैक्षिक प्रणालीले देश विकासलाई अघि बढाउन नसक्ने भन्दै उहाँले व्यवसायिक र प्राविधिक शिक्षा अहिलेको आवश्यकता भएको बताउनुभयो । एक अर्को प्रसंगमा प्रदेश प्रमुख शेरचनले अंग्रेजी भाषा बोल्न जान्दैमा गुणस्तरीय शिक्षा हुन नसक्ने बताउनुभयो । निजी विद्यालयमा अंग्रेजी माध्यममा पढाइ हुने गरेको उल्लेख गर्दै उहाँले भाषा शिक्षाको माध्यम मात्र भएको भनाइ व्यक्त गर्नुभयो ।
देशलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने खालको शिक्षा अहिलेको आवश्यकता भएको भन्दै उहाँले नैतिकता सिकाउने शिक्षा जरुरी रहेको बताउनुभयो । सर्वसाधारणका छोराछोरीले शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउँदै उहाँले सबैलाई शिक्षाको हक दिलाउने वातावरण बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । निजी विद्यालय र सामुदायिक विद्यालयमा देशमा दुई खाले शिक्षा रहेको भन्दै प्रदेश प्रमुख शेरचनले शिक्षा, स्वास्थ्य र रोजगारीको जिम्मेवारी राज्यले लिनुपर्नेमा जोड दिनुभयो ।


पोखरा महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख गंगाबहादुर गुरुङले निजी विद्यालयले कुल विद्यार्थी संख्याको १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने सरकारी नीति रहेको भन्दै विद्यालयले आफ्नो दैनिक व्यवहारमा लागू हुने खालको शिक्षा दिनुपर्ने बताउनुभयो । किताब पढेर मात्र नहुने भन्दै उहाँले वर्तमान समयमा जीवनोपयोगी शिक्षा दिन सक्यौं कि सकेनौं भनेर विद्यालय सञ्चालकहरूले सोंच्ने बेला आएको बताउनुभयो ।
विद्यालयका निर्देशक ज्ञानबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा एनप्याब्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्रमोहन भट्टराई, स्थानीय बुद्धिजीवी विष्णु बराल, प्याब्सन, कास्कीका अध्यक्ष प्रेमप्रसाद शर्मा, एन–प्याब्सन, कास्कीका अध्यक्ष हेमन्त अधिकारी, राइजिङ स्टार एकेडेमीका प्राचार्य सञ्जय पौडेल, विद्यार्थी खुशी विक, शिक्षिका अञ्जु दाहाललगायतले बोल्नुभएको थियो ।

Advertisment