२१ औं अन्तर्राष्ट्रिय मातृभाषा दिवसमा मगर र गुरुङ भाषाका कविता

पोखरा, १० फागुन
२१ औं अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा शुक्रबार गण्डकी प्रदेशको राजधानी पोखरामा मगर र गुरुङ भाषाका कविता सुनाइए ।
गुरुङ साहित्यिक मञ्च नेपाल र मगर भाषा प्रतिष्ठान, कास्की शाखाले संयुक्त रुपमा आयोजना गरेको बहुभाषिक रचना वाचन कार्यक्रममा मगर र गुरुङ भाषासँगै नेपाली भाषाका केही कविता समेत प्रस्तुत भए ।
कार्यक्रममा सुनाइएका कविता र मातृभाषाबारे बोल्दै नेपाल आदिवासी जनजाति महासंघ, प्रदेश समन्वय परिषद्, गण्डकी प्रदेशका संयोजक खेम पुनमगरले लोपोन्मुख मातृभाषाको संरक्षणका लागि राज्य गम्भीर बन्नुपर्ने भनाइ राख्नुभयो । आदिवासी जनजाति समुदायका मातृभाषामा सरकारी कामकाज र पठनपाठनको व्यवस्था गरिनुपर्ने माग गर्दै उहाँले गण्डकी प्रदेशमा बाहुल्यता रहेका मगर र गुरुङ समुदायको मातृभाषालाई सरकारी कामकाजको भाषा बनाइनुपर्ने बताउनुभयो ।
नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद्, कास्कीका अध्यक्ष धर्म गुरुङले मातृभाषा दिवसलाई अझै व्यापक रुपमा मनाउनुपर्ने आवश्यकता औंल्याउँदै आगामी वर्षदेखि महासंघले त्यसको नेतृत्व लिने प्रतिबद्धता जनाउनुभयो । मातृभाषा संरक्षण गर्नु अहिलेको मुख्य चुनौती रहेको भन्दै उहाँले मातृभाषाको प्रयोगको क्षेत्र विस्तार गर्न नसके संरक्षण गर्न गाह्रो हुने भनाइ राख्नुभयो ।
कार्यक्रममा लोकबहादुर थापामगर, रूद्रबहादुर हितानमगर, फूलकुमारी थापामगर, तेजबहादुर गुरुङ, विष्णु गुरुङ “एकता”, तुलबहादुर गुरुङ, गौरी गुरुङ, रोशनी गुरुङ, रूद्रबहादुर श्रीसमगर, ईश्वरी थापामगर, तिलक खाम्चामगर, पवन खाम्चामगर “मिजास”लगायतले मगर, गुरुङ र नेपाली भाषामा रचना वाचन गरेका थिए ।
मगर भाषा प्रतिष्ठान, कास्की शाखाका अध्यक्ष रूद्रबहादुर हितानमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन गुरुङ साहित्यिक मञ्च नेपालकी महासचिव रोशनी गुरुङले गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै गुरुङ साहित्यिक मञ्च नेपालकी अध्यक्ष गौरी गुरुङले छोटै समयको तयारीमा भएपनि मातृभाषा दिवसको कार्यक्रम तय गरिएको जानकारी दिनुभयो ।

Advertisment