नेपाल मगर संघ, नमुना इकाईको एक महिने मगर भाषा प्रशिक्षण सुरु

पोखरा, २२ माघ
नेपाल मगर संघ, नमुना इकाई समिति, पोखरा–१४, चाउथेको आयोजनामा एक महिने मगर भाषा प्रशिक्षण सुरु भएको छ ।
बुधबारदेखि सुरु भएको मगर भाषा प्रशिक्षण एक महिनासम्म सञ्चालन हुने अध्यक्ष ओम श्रीसमगरले जानकारी दिनुभयो । मगर भाषा प्रशिक्षक रूद्रबहादुर श्रीसमगरको प्रशिक्षण रहने सो भाषा कक्षामा इकाई समितिमा आबद्ध ३५ घरधुरीका मगर भाषा बोल्न नजान्ने मगर समुदायका सदस्यहरूको सहभागिता रहेको अध्यक्ष श्रीसमगरले जानकारी दिनुभयो ।


पछिल्लो समय मगर भाषा लोप हुँदै जान थालेकोप्रति चिन्ता व्यक्त गर्दै मगर भाषा बोल्न नजान्ने मगर समुदायमा मगर भाषा सिकाउने अभियान सुरु गर्न लागिएको नेपाल मगर संघ, कास्कीका भाषा तथा शिक्षा विभाग प्रमुख शिव थापामगरले बताउनुभयो । यस अभियानले मगर भाषा संरक्षणमा ठूलो टेवा पुग्ने थापामगरको भनाइ छ । नेपाल मगर संघ, नमुना इकाई समितिका सल्लाहकार कृष्ण पुनमगरले मगर भाषा प्रशिक्षण अभियानले आफ्नै मातृभाषामा कुराकानी गर्न सक्ने वातावरण बन्ने विश्वास व्यक्त गर्नुभयो ।

Advertisment