पर्चाकार होइन पत्रकारको भूमिका निर्वाह गर्नुस् ः प्रवक्ता प्रकाश

पोखरा, ९ माघ
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता एवं प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठ “प्रकाश”ले आफ्ना पार्टीनिकट पत्रकारलाई पर्चाकार नभइ पत्रकारकै भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ ।
नेकपानिकट प्रेस संगठन नेपाल, गण्डकी प्रदेश कमिटीको सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमलाई बिहीबार पोखरामा सम्बोधन गर्दै प्रवक्ता प्रकाशले पत्रकारले पार्टीमा आस्था राखेपनि पर्चाकारका रुपमा मात्रै रहन नहुने भनाइ राख्नुभयो । पत्रकारहरू अध्ययनशील हुन जरुरी रहेको भन्दै उहाँले अन्य क्षेत्रमा जस्तै पत्रकारिता क्षेत्रमा समेत अध्ययन र अनुसन्धान कम हुन थालेको बताउनुभयो ।
नेकपा, गण्डकी प्रदेश कमिटीका इञ्चार्ज एवं मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले देशमा राजनैतिक परिवर्तन भएपनि अझै पनि सोंच र कार्यशैलीमा परिवर्तन आउन नसकेको बताउनुभयो । व्यवस्था परिवर्तन भएपनि कार्यशैली र व्यवहारमा परिवर्तन नभए कम्युनिष्ट पार्टीको अस्तित्व संकटमा पर्ने भन्दै गुरुङले सामाजिक परिवर्तनसँगै सोंचमा समेत आमूल परिवर्तनको जरुरी औंल्याउनुभयो । नेकपा, गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डे “उत्तम”ले पार्टीको नीति अनुसार सरकार र पार्टीविरुद्ध हुने भ्रमको प्रतिवाद गर्न पार्टीनिकट पत्रकारलाई निर्देशन दिनुभयो ।
भूमि सुधार, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले पत्रकारले निराशा नभइ आशा जगाउने काम गर्नुपर्नेमा जोड दिनुभयो । नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले पार्टी र सरकारविरुद्ध विपक्षीले अनावश्यक भ्रम फैलाइरहेकाले त्यसलाई चिर्न प्रेस संगठनले विशेष भूमिका खेल्नुपर्ने बताउनुभयो ।
प्रेस संगठन नेपालका केन्द्रीय संयोजक महेश्वर दाहालले क्रान्तिकारी एवं आलोचनात्मक चेतका साथ पत्रकारले कलम चलाउनुपर्ने बताउँदै कर्पोरेट मिडियाको बोलवालाका कारण साना स्वरोजगार मिडिया संकटमा फस्दै गएकोप्रति गम्भीर ध्यानाकर्षण हुनुपर्ने बताउनुभयो । त्यस्तै, सह–संयोजक गणेश बस्नेतले विगतका कुरा भुलेर एकढिक्का भएर प्रेस संगठनलाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले संगठनसँगै पत्रकारितामा समेत निपुणता हासिल गरेर अघि बढ्न प्रेस संगठनमा आबद्ध पत्रकारलाई आग्रह गर्नुभयो ।
प्रेस संगठन नेपाल, गण्डकी प्रदेशका संयोजक रामकृष्ण शर्माको अध्यक्षतामा भएको कार्यक्रममा सह–संयोजक त्रिभुवन पौडेलले सञ्चालन र इञ्चार्ज गणेश पाण्डेले स्वागत गर्नुभएको थियो । प्रेस संगठन नेपालको ८१ सदस्यीय गण्डकी प्रदेश कमिटीका सदस्यहरूलाई संगठनका केन्द्रीय संयोजक महेश्वर दाहालले सपथ खुवाउनुभएको थियो ।

Advertisment