सपौंदेली तमुहरूले मनाए च्यु ल्होसार

पोखरा, २७ पुस
सपौंदे–पोखरा तमु सम्पर्क समितिले तमु (गुरुङ) समुदायको महत्वपूर्ण चाड च्यु ल्होसारको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
आइतबार आयोजित कार्यक्रममा सपौंदेली तमुहरूले एक आपसमा शुभकामना साटासाट गरेका हुन् । सो अवसरमा ज्येष्ठ नागरिकलाई समेत सम्मान गरिएको थियो ।
ज्येष्ठ नागरिक ९१ वर्षीय शंखबहादुर गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ९३ वर्षीया गौमती गुरुङ, ८७ वर्षीया तिरमति गुरुङ, ८५ वर्षीया किसमती गुरुङ, ८४ वर्षीया कुशमाया गुरुङ, ८१ वर्षीया शान्तकुमारी गुरुङ, ७९ वर्षीया टलु गुरुङ र ७८ वर्षीया रिमती गुरुङलाई दोसल्ला र सम्मानपत्रद्वारा दीर्घायूको कामनासहित सम्मान गरिएको थियो ।
कार्यक्रममा तेक्वान्दो खेलाडी रेखमाया गुरुङ, विद्यार्थीहरू पूजा गुरुङ र बबिता गुरुङलाई पनि सम्मान गरिएको थियो । सो अवसरमा बोल्दै महिला उद्यमी महासंघ नेपालकी केन्द्रीय सदस्य एवं कास्की जिल्ला अध्यक्ष काशी गुरुङले आफ्नो संस्कार, संस्कृति कसैले पनि भुल्न नहुने बताउनुभयो । आफ्नो पहिचानको संरक्षण गर्दै उद्यमशीलतामा लाग्नुपर्ने बताउँदै गुरुङले महिलाहरू उद्यमशील भए मात्र समृद्धिले सार्थकता पाउने उल्लेख गर्नुभयो ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशका महासचिव रूद्रबहादुर श्रीसमगरले सामूहिक रुपमा आफ्ना मौलिक चाड पर्व मनाउनु निकै सराहनीय भएको भन्दै भाषा, संस्कृति र भेषभूषाको संरक्षणमा सबैले चासो दिनुपर्ने बताउनुभयो ।
सपौंदे–पोखरा तमु सम्पर्क समितिका पच्यु गुरु ठगबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मेलिना गुरुङ, सह–सचिव हुममाया गुरुङ र सह–कोषाध्यक्ष होमबहादुर गुरुङले पनि बोल्नुभएको थियो ।

Advertisment