भुजुङका आमाहरूलाई पाँच दिने उद्घोषण तथा भाषणकला तालिम

भुजुङ (लमजुङ), २३ पुस
लमजुङको क्व्होंला सोंथर गाउँपालिका वडा नं. ४, भुजुङका आमाहरूका लागि सञ्चालित पाँच दिने उद्घोषण तथा भाषणकला तालिम सोमबार सम्पन्न भएको छ ।
युम्बु विकास आमा समूह, भुजुङको आयोजनामा पुस १६ गतेदेखि सुरु भएको तालिम सोमबार सम्पन्न भएको हो । क्व्होंला सोंथर गाउँपालिकाको आर्थिक सहयोगमा सम्पन्न भएको तालिमको समापन गर्दै वडाध्यक्ष खिमबहादुर गुरुङले आमा, दिदीबहिनीहरूको क्षमता विकासका लागि तालिमले महŒवपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
विगतमा शासकीय कमजोरीका कारण महिलाहरू पछाडि पारिएको बताउँदै वडाध्यक्ष गुरुङले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । पाँच दिनसम्म भएको तालिम आफूले निकै प्रभावकारी भएको पाएको भन्दै उहाँले स्थानीय सरकारको लगानी उपयुक्त ठाउँमा भएको महसुस भएको बताउनुभयो ।
वडा सदस्य पित्रमान गुरुङले यस्ता तालिमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय, भुजुङका प्रतिनिधि पुरुषोत्तम मुडबरीले महिला सशक्तिकरणका लागि उद्घोषण तालिम उपयोगी हुने बताउनुभयो ।
तालिमका प्रशिक्षक एवं नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशका सचिव रूद्रबहादुर श्रीसले तालिममा सिकेका कुरालाई तालिममा मात्र सीमित नराख्न आग्रह गर्दै उद्घोषण तथा भाषणकलामार्फत् नेतृत्व विकास गर्न सकिने धारणा राख्नुभयो । लालीगुराँस युवा क्लब, भुजुङका अध्यक्ष नवराज गुरुङले औपचारिक कार्यक्रममा बोल्नै नसक्ने आमा, दिदीबहिनीहरू तालिमपश्चात् धाराप्रवाह बोल्न सकेको देख्दा खुशी लागेको बताउनुभयो ।
युम्बु विकास आमा समूहकी अध्यक्ष आशकुमारी गुरुङको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा समूहकी निवर्तमान अध्यक्ष मबिना गुरुङ, सचिव हेमन्ता गुरुङ, दुर्गादेवी गुरुङ, प्रशिक्षार्थीहरूको तर्फबाट प्यारी गुरुङ र पपना गुरुङले पनि बोल्नुभएको थियो ।
सो अवसरमा तालिममा उत्कृष्ट प्रशिक्षार्थीका रुपमा प्यारी गुरुङ, धनकाशी गुरुङ र सुनिता गुरुङलाई मायाको चिनो समेत प्रदान गरिएको थियो भने प्रशिक्षार्थीहरूलाई सहभागिताको प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा समूहकी कोषाध्यक्ष हुमकुमारी गुरुङले कविता वाचन गर्नुभएको थियो ।
यसअघि, तालिमको उद्घाटन वडाध्यक्ष खिमबहादुर गुरुङले नै गर्नुभएको थियो भने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय, भुजुङका प्रमुख राजेशप्रसाद गुप्ता, रीतिथिति नियन्त्रण समितिका अध्यक्ष कालबहादुर गुरुङलगायतले बोल्नुभएको थियो । युम्बु विकास आमा समूहकी उपाध्यक्ष जमुना गुरुङले आमा, दिदीबहिनीहरूको क्षमता अभिवृद्धिका लागि तालिम सफल भएको बताउनुभयो ।

Advertisment