गलकोटको पर्यटन प्रवद्र्धन गर्दै सकियो दोस्रो गलकोट घुम्टे महोत्सव

गलकोट, १६ मंसिर
गलकोट घुम्टे पर्यटन विकास केन्द्र, गलकोट, बागलुङको आयोजनामा मंसिर ४ गतेदेखि सुरु भएको दोस्रो गलकोट घुम्टे महोत्सव–२०७६ सफलतापूर्वक सकिएको छ ।
“लोपोन्मुख सांस्कृतिक, प्राकृतिक, ऐतिहासिक तथा जैविक सम्पदाको संरक्षण, समृद्ध गलकोट निर्माणका लागि एकीकृत विकास र पर्यटन प्रवद्र्धन” भन्ने मूल नाराका साथ सुरु भएको महोत्सव मंसिर ११ गतेसम्म भनिएपनि दर्शकको भीडका कारण थप एक दिन गरी १२ गते समापन गरिएको हो ।
१३ वर्षपछि सञ्चालन भएको महोत्सवको समापन गर्दै गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले आर्थिक समृद्धिको लागि पर्यटन प्रर्वद्धन नै पहिलो आधार रहेको बताउनुभयो । नगर प्रमुख भरत शर्मा गैरेले महोत्सवले पर्यटन प्रर्वद्धनको लागि गलकोट क्षेत्रमा रहेका पर्यटकीय क्षेत्र प्रचार प्रसारमा विशेष भूमिका खेलेको बताउनुभयो ।
उहाँले गलकोट क्षेत्र आफैंमा मौलिक सांस्कृतिक पक्षका हिसाबले निकै महत्वपूर्ण क्षेत्र रहेको बताउँदै महोत्सवमा सबै सांस्कृतिक पक्षको प्रदर्शन गर्नाले संरक्षण र प्रवद्र्धनमा सहयोग पुगेको बताउनुभयो । गैरेले गलकोट नगरपालिकाले पर्यटकीय क्षेत्रको प्रचार प्रसार, पूर्वाधार निर्माण जस्ता विषयलाई प्राथमिकता दिएर अगाडि बढेको बताउनुभयो ।
समापन समारोहको अवसरमा ताराखोला गाउँपालिकाको निकै मौलिक सास्कृतिक पर्ब सिस्नोखोस्ने पर्वको समेत प्रदर्शन गरिएको थियो । मेलामा खुल्ला लोक दोहोरी गीत प्रतियोगिता सञ्चालन भैरहेको छ । अन्तिम दिनको अवसरमा मेलाका प्रायोजक, सहयोगदातालाई सम्मान, बिभिन्न प्रतियोगितामा बिजेता बनेका प्रतियोगीलाई पुरस्कार बितरण गरिएको थियो ।
कार्यक्रममा राष्ट्रियस्तरका चर्चित कलाकारहरू रामकृष्ण ढकाल, सीताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली), विष्णु खत्री, वसन्त थापा, देवी घर्ती, जुना श्रीस, रामकृष्ण बम मल्ल, श्रीकृष्ण बम मल्ल, दुर्गेश थापा, थानेश्वर गौतम, प्रकाश सपूत, विन्दु परियार, तेजश रेग्मी, आशीष अविरललगायतले दर्शकलाई मनोरञ्जन दिए । आयोजकका अनुसार झण्डै ५० हजार दर्शकले महोत्सवको अवलोकन गरेका थिए । यसअघि, महोत्सवको उद्घाटन पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले गर्नुभएको थियो ।
महोत्सवमा गलकोटमा प्रचलित प्राचीन मौलिक लोकसांस्कृतिक झाँकीहरू प्रस्तुत गरिएका थिए । त्यस्तै, विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरू समेत गरिएका थिए । गलकोटका विभिन्न पर्यटकीय स्थलको प्रचारप्रसार र प्रवद्र्धन गर्न महोत्सव सफल भएको केन्द्रका अध्यक्ष झंकबहादुर बस्नेतले जानकारी दिनुभयो ।

Advertisment