कार्यसम्पादनमा अब्बल गृहमन्त्री बादल

काठमाडौं, १५ मंसिर
चालु आर्थिक वर्षको पहिलो चौमासिक कार्यसम्पादन मूल्याङ्कनमा सबैभन्दा अब्बल गृहमन्त्री रामबहादुर थापा ‘बादल’ देखिनुभएको छ । गृह मन्त्रालयको कार्यसम्पादन ९४ प्रतिशत पुगेको छ ।
यो अवधिमा गर्ने भनेर प्रतिबद्धता गरेका काममध्ये गृह मन्त्रालयले ९४.४ प्रतिशत सम्पन्न गरेको छ । साथै ५.१ प्रतिशत काम भइरहेको अवस्थामा छन् । गृहमन्त्री बादलले प्रतिवद्धता गर्नुभएको काममध्ये .५ प्रतिशत काम मात्रै सुरु हुन नसकेको अवस्थामा देखिएको छ ।
कार्यसम्पादन करारमा प्रतिबद्धता गरेको लक्ष्यअनुसार सम्पन्न भइसकेका, जारी रहेका र सुरु नभएका कामहरुको विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तयार गरेको सफ्टवेयरमा मन्त्रालय आफैँले राख्नुपर्ने हुन्छ । मन्त्रालयले राखेको विवरणअनुसार सफ्टवेयरले कुन मन्त्रालयको प्रगति कति छ भनेर पाइचार्टसहितको रिपोर्टकार्ड बनाउने गर्छ । मन्त्रालयको कामलाई सफ्टवेयरले फरक–फरक रङमा देखाउँछ । मन्त्रालयहरूले चौमासिक रूपमा लिएको लक्ष्यअनुसार काम सम्पन्न भएको छ भने हरियो रङ देखिन्छ ।
काम जारी अवस्थामा छ भने पहेँलो रङ देखिन्छ तर कामको प्रक्रिया सुरु नै नभएको अवस्थामा रातो रङमा देखिन्छ  । सफ्टवेयरले कामको प्रगतिका आधारमा ग्रेडिङ पनि गर्ने गरेको छ । सम्पन्न भएको वा सकिने चरणमा रहेको कामलाई ४ देखि ५ ग्रेड दिने गरिएको छ । त्यस्तै, हुँदै गरेको कामलाई प्रगतिका आधारमा २ देखि ३ ग्रेड दिइन्छ । र, सुरु नै नभएका कामलाई ० देखि १ ग्रेड दिने गरिन्छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकले गत आर्थिक वर्षको पहिलो चौमासिकदेखि मन्त्रीहरूले गरेका कामका आधारमा रिपोर्ट कार्ड तयार गर्दै आएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको यही मूल्याङ्कनका आधारमा दोस्रोमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८५.३ प्रतिशत काम सम्पन्न गरेको छ । तेस्रो स्थानको रक्षा मन्त्रालयले पनि ८५ प्रतिशत काम सम्पन्न गरेको छ । कार्यसम्पादनमा सबैभन्दा कमजोर राष्ट्रिय पुनर्निर्माण प्राधिकरण देखिएको छ । उसले गर्नुपर्ने काममध्ये ७६.४ प्रतिशत सुरु नै गरेको छैन । दोस्रो कमजोर संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ६३ प्रतिशत काम गर्न सकेको छैन । परराष्ट्र मन्त्रालयले ५१.९ प्रतिशत काम सम्पन्न गर्न नसकी अन्तिमबाट तेस्रोमा दरिएको छ ।
यता, प्रधानमन्त्री ओलीकै मन्त्रालयको कार्यसम्पादन पनि कमजोर देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ५३ प्रतिशत मात्र काम पूरा गरेको छ । चौमासिक अवधिमा गर्नुपर्ने ४१ प्रतिशत चालू अवस्थामा छन् भने ५.२ प्रतिशत काम सुरु नै भएका छैनन् ।

Advertisment