लोकतन्त्रमा जनताको मत बम भन्दा शक्तिशाली हुन्छ ः रवीन्द्र मिश्र

पोखरा, ९ मंसिर
साझा पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्रले देश रुपान्तरणका लागि जनता स्वयं सचेत हुनुपर्ने बताउनुभएको छ ।
सोमबार पोखरा–७, शान्तिनगर चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उहाँले लोकतन्त्रमा जनताको मत सबैभन्दा शक्तिशाली हुने भएकाले देशको मुहार बदल्न जनता जिम्मेवार हुने बताउनुभएको हो ।
’देश रुपान्तरण गर्ने हो भने जनता स्वयं परिवर्तन हुनुपर्छ, अधिनायकवादी भएको ठाउँमा अधिनायक सर्व शक्तिमान हुन्छन्,’ उहाँले भन्नुभयो, ’नेपालमा लोकतन्त्र आएको वर्षौं भयो, लोकतन्त्रमा जनताको मत बम भन्दा शक्तिशाली हुन्छ ।’
पार्टीगत भावनाबाट मुक्त भएर स्वतन्त्र रुपमा आफ्नो मत खसाल्न आग्रह गरे । नागरिकले स्वतन्त्र भएर मतदान गरे लोकतन्त्र परिस्कृत हुने बताउँदै संयोजक मिश्रले भन्नुभयो, ’पहिले स्वतन्त्र हुनुस्, अनि विवेक प्रयोग गरेर मत खसाल्नुस, त्यसपछि मात्र देश विकास हुन्छ ।’
भावी पुस्ताको भविष्य सुधार गर्न साझा पार्टीबाहेक अरु कुनै पार्टी देशमा विकल्प बन्न नसक्ने उहाँले दाबी गर्नुभयो । ’
’अब कार्यकर्ता बनेर होइन, असल अभिभावक बनेर मतदान गर्नुपर्छ, आफ्नो सन्तान र भावी पुस्ताको बारेमा सोच्नुपर्ने बेला आयो ।’
कोणसभालाई सम्बोधन गर्दै कास्की–२ का उम्मेदवार रजनी केसीले जनमतको कदर र जनताको विश्वासप्रति सधैं सचेत रहने प्रतिबद्धता जाहेर गर्नुभएको छ ।
उहाँले भन्नुभयो, ’विश्वासको राजनीति गर्न देशप्रेमी युवा संगठित भएका हौं, हाम्रो स्वार्थ भनेको देश बनाउने मात्र हो, त्यसबाहेक कुनै स्वार्थ छैन् ।’ पुराना दलहरु पटक पटक सत्तामा गए पनि कुनै उल्लेख्य काम गर्न नसकेकोले अब देशले विकल्प खोजेको उहाँले बताउनुभयो ।
कास्की–२ को उपनिर्वाचन सत्तारुढ र प्रतिपक्षी दल दुवैलाई सबक सिकाउने माध्यम हुने भएकाले यसलाई साझा पार्टीले मिनि जनमत संग्रहको रुपमाले उहाँको भनाइ छ ।
’सत्ता र प्रतिपक्षमा भएका दलले गरेका कुकर्मको फल दिने उचित समय कस्केली जनता सामु आएको छ,’ उहाँले भन्नुभयो,’जनताले आफ्नो मतमार्फत पाठ सिकाउने समय आयो ।’
सभालाई सम्बोधन गर्दै साझा पार्टीका कास्की जिल्ला संयोजक अर्जुनप्रसाद खनालले नेपाली जनताले देशको मुहार फेर्न आन्दोलन र प्राण त्याग गरे पनि त्यसको नातिजा भ्रष्टाचार र कुशासन मात्र आएको बताउनुभयो ।
साझा पार्टीले चुनावको मिति नजिकिँदै गर्दा मतदाता भेटघाटलाई तीव्र बनाएको छ । पार्टीका तर्फबाट उम्मेदवार बनेकी रजनी केसी जनमत आफ्नो पक्षमा पार्न कास्की निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्ने ११ वटै वडाका स्थानीयसँग भेटघाटमा व्यस्त रहनुभएको छ । पार्टीले सोमबार रत्न चोक, राष्ट्रबैंक चोक, सिर्जना चोकलगायतका ठाउँमा पनि कोणसभा आयोजना गरेको थियो ।

Advertisment