पोखरा, ७ मंसिर
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लोक तथा दोहोरी गीतमा छाडापन हटाइनुपर्ने बताउनुभएको छ । मुलुकको समृद्धिका लागि कला, साहित्य, सङ्गीत, नाट्य महत्वपूर्ण पाटो भएकाले संस्कृतिको संरक्षणका निम्ति लोकदोहोरीका नाममा छाडा शब्दहरूलाई नियमन गरिनुपर्ने बताउनुभयो । ।
शुक्रबारबाट पोखरामा सुरु भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सातौं केन्द्रीय महाधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले पोखरा सुन्दर शहर भएकाले पोखरालाई कन्फ्रेन्स सिटीको रुपमा विकास गर्न सरकार लागि परेको बताउनुभयो । उहाँका अनुसार गण्डकी प्रदेश सरकारले चाँडै नै पोखरामा कन्फ्रेन्स हल बनाउँदै छ ।
उहाँले समाजमा सुशासन कायम राख्ने हो भने मदिरा जन्य पदार्थलाई नियमन गरिनुपर्ने बताउनुभयो । बलात्कार, हिंसा जस्ता घटनाको मुख्य कारण मदिरा भएकाले यसको नियमन तर्फ उहाँको जोड थियो । उहाँले नेपालमा पनि मदिरा सेवन गर्न उमेर हद तोकिनुपर्ने उल्लेख गर्नुभयो ।
मुख्यमन्त्री गुरुङले सामाजिक सञ्जालका नाममा अराजक गतिविधि भईरहेको बताउनुभयो । ‘लोकतन्त्रको नाममा मनपरितन्त्र भएको छ’, उहाँले, ‘सामाजिक सञ्जालमा के र कस्ता विषयलाई प्रस्तुत गर्नुपर्छ यसको पनि नियमनको आवश्यक छ ।’
उहाँले संस्कृतिको विषयमा अरु राष्ट्रभन्दा नेपाल अगाडि रहेको बताउँदै यसलाई जोगाइराख्न मर्यादा नागेका विषयलाई नियमन गरिनुपर्ने बताउनुभयो । सातौं महाधिवेशनबाट लोकदोहोरी सर्जक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्ष दुर्गा रायमाझी, पत्रकारिता क्षेत्रबाट फेवा टेलिभिजनका स्टेशन म्यानेजर हेमराज अधिकारी र अग्रज लोकदोहोरी गायिका लक्ष्मी सुवेदीलाई सम्मान गरिएको छ ।
लोक तथा दोहोरी गीत प्रतिष्ठानको सातौं महाधिवेशन सुरु
७ मंसिर २०७६, शनिबार
1081

Advertisment