संघीयतालाई कमजोर बनाउने प्रयास भयो ः प्रचण्ड

भक्तपुर, ७ मंसिर
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्डले संघीयता नबुझेकाले संघीयतालाई कमजोर बनाउने प्रयास गरिरहेको बताउनुभएको छ ।
भक्तपुरको खरिपाटीमा सुरु भएको नेकपासम्बद्ध लोकतान्त्रिक राष्ट्रिय मगर मोर्चा नेपालको दोस्रो पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संघीयता अझै पूर्ण भइनसकेको र प्रभावकारी ढंगबाट कार्यान्वयनमा आउन नसकिरहेका बेला संघीयताविरोधी सक्रिय बनेको बताउनुभयो । संघीयतालाई पूर्णता दिँदै वर्गीय, जातीय र लिंगीय उत्पीडन अन्त्य गरेर देशलाई समृद्धिको यात्रामा हिँडाउनुपर्ने बताउँदै अध्यक्ष प्रचण्डले कुनै समय आफ्नो टाउकाको मूल्य तोकेको दलसँग अहिले सहकार्य गर्नुपरेको स्मरण समेत गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पार्टी एकतालाई पूर्णता दिँदै नयाँ शक्तिका रुपमा स्थापित गर्न अझै बाँकी रहेको बताउनुभयो । मुलुकको समृद्धिका लागि माक्र्सवाद, लेनिनवाद र समाजवादलाई समेत समृद्ध बनाउँदै लैजानुपर्ने आवश्यकता औंल्याउँदै गृहमन्त्री बादलले पार्टीले तय गरेको सिद्धान्त, नीति, कार्यदिशा र रणनीतिलाई सशक्त ढंगबाट अघि बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
कुनै पनि संगठन क्रान्ति र सामाजिक रुपान्तरणको साधन भएको बताउँदै गृहमन्त्री बादलले पार्टीले आवश्यकता ठानेर नै मगर मोर्चाको गठन गरेको उल्लेख गर्नुभयो । अहिलेको नोकरशाही दलाल पुँजीवादको अन्त्य गरेर समाजवादको दिशामा अघि बढ्नुपर्ने बताउँदै उहाँले सबैखाले विभेदको अन्त्य गर्दै समाजवादी क्रान्तिको तयारीमा लाग्नुपर्ने बताउनुभयो । प्रतिक्रियावादीसित लड्न सर्वहारा वर्ग एक्लैले नसक्ने भन्दै गृहमन्त्री बादलले त्यसका निम्ति उत्पीडित समुदायको साथ जरुरी रहेको बताउनुभयो । रचनात्मक र सिर्जनात्मक रुपमा जनताको आवाज बोल्न मगर मोर्चालाई आग्रह गर्दै गृहमन्त्री बादलले सरकारले नै उत्पीडितहरूको आवाज बोल्ने उद्घोष समेत गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की केन्द्रीय सदस्य एवं संघीय संसद्की शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले देशमा राजतन्त्रको अन्त्य गरेर गणतन्त्रको स्थापना गर्न मगर समुदायको महत्वपूर्ण भूमिका रहेको बतउनुभयो । सबै मगरहरूलाई गोलबन्द गर्दै समाजवादी क्रान्तिको पक्षमा आन्दोलित गर्न मोर्चा सफल हुने विश्वास व्यक्त गर्दै सभापति घर्तीले वर्तमान समयमा मगर मोर्चाको भूमिका बदलिएको बताउनुभयो ।
जनयुद्ध र जनआन्दोलनका उपलब्धीलाई संविधानमा लिपिबद्ध गरिएको उल्लेख गर्दै उहाँले पार्टीले समाजवादको यात्रामा अघि बढ्ने संकल्प लिएको बताउनुभयो । सामाजिक न्यायसहितको आर्थिक समृद्धि नेकपाको मुख्य नीति रहेको भन्दै सभापति घर्तीले पार्टी एकता प्रक्रियालाई सम्पन्न गर्ने विन्दुमा आइपुगेको जानकारी दिनुभयो ।
नेकपाका केन्द्रीय सदस्य एवं आदिवासी जनजाति महासंघ, नेपालका इञ्चार्ज गोकुल घर्तीले वर्ग, जाति, क्षेत्र, लिंग र भाषाका आधारमा अझै पनि उत्पीडन र विभेद कायमै रहेको उल्लेख गर्नुभयो । नेकपाका अर्का केन्द्रीय सदस्य एवं आदिवासी जनजाति महासंघ, नेपालका संयोजक सुरेश आलेले हरेक राजनैतिक परिवर्तनमा मगर समुदायको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै पहिचानको आन्दोलन अझै पनि पूरा नभएको तर्क गर्नुभयो । सो अवसरमा प्रदेश नं. ३ की सांसद् रमा आलेले पनि बोल्नुभएको थियो ।
संविधानसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता अधिवक्ता रामबहादुर थापाले आदिवासी जनजाति समुदायले संविधानमा उल्लेख गरिएका अधिकार समेत नपाएको बताउनुभयो । लोकतान्त्रिक राष्ट्रिय मगर मोर्चा नेपालका संयोजक भोजविक्रम बुढाले अति जातिवादी र अति वर्गवादी चिन्तनबाट नेकपाका नेताहरू मुक्त हुनुपर्ने बताउँदै लोकतान्त्रिक राष्ट्रिय मगर मोर्चा नेपालले वर्गीय मुक्ति आन्दोलन र जातीय मुक्ति आन्दोलनलाई संयोजन गरेर अघि बढाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।
मोर्चाका संयोजक भोजविक्रम बुढाको अध्यक्षतामा भएको बैठकले मोर्चाको राजनैतिक प्रतिवेदन तथा अन्तरिम विधान–२०७६ पारित गर्दै मगरात पहिचानसहितको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित गर्न सम्पूर्ण मगरहरूलाई मोर्चामा गोलबन्द गर्ने निर्णय गरेको छ । बैठकमा मोर्चाका सह–संयोजक गणेश सलामीले पनि बोल्नुभएको थियो । स्मरण रहोस्, २०६५ सालमा तत्कालिन एकीकृत नेकपा (माओवादी)को राष्ट्रिय विस्तारित बैठक भक्तपुरको खरिपाटीमा बसेकै ठाउँमा मगर मोर्चाको दोस्रो बैठक बसेको हो ।

Advertisment