कांग्रेस सभापति देउवासहित सबै नेताहरू पोखरामै

पोखरा, ६ मंसिर
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार पोखरामै रहनुभएको छ । शुक्रबार बिहान पोखरा आइपुगेका सभापति देउवा विभिन्न कार्यक्रममा सहभागी हुनुभयो ।
उहाँले शनिबार पोखरा–१६, बाटुलेचौरमा आयोजित चुनावी सभालाई संवोधन गर्ने कार्यक्रम छ । उक्त सभाको सबै तयारी पूरा भएको पोखरा–१६ का चुनावी कमाण्डर कुमार खड्काले जानकारी दिनुभयो ।
यसैगरी, पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय डा. शशांक कोइराला, पूर्णबहादुर खड्का, केन्द्रीय सदस्यहरू गगनकुमार थापा, धनराज गुरुङ, डा. मिनेन्द्र रिजाल लगायत पनि पोखरामै हुनुहुन्छ । सबै नेताहरू शनिबारको चुनावी सभाका साथै अन्य कार्यक्रममा समेत सहभागी हुने कास्की कांग्रेसका सभापति कृष्ण केसीले जानकारी दिनुभयो ।
आसन्न उपनिर्वाचनलाई लक्षित गरी कांग्रेसका उच्च नेताहरू पोखरा केन्द्रित भएका हुन् । पार्टीले पूराना र निष्ठावान नेता खेमराज पौडेललाई उम्मेदवार बनाएको छ । उम्मेदवार खेमराजलाई हौसला प्रदान गर्दै कांग्रेसको पक्षमा चुनावी परिणाम ल्याउन पोखरामा नेताहरूको सक्रियता बढेको हो ।

Advertisment