नेकपा उम्मेदवार विद्या भट्टराईलाई जिताउन आदिवासी जनजाति जुटे

पोखरा, ५ मंसिर
यही मंसिर १४ गते हुने उपनिर्वाचनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट कास्की क्षेत्र नं. २ की उम्मेदवार विद्या भट्टराई (अधिकारी)लाई जिताउन नेकपासमर्थित आदिवासी जनजाति जुटेका छन् ।
निर्वाचन परिचालनका लागि नेकपा, कास्कीले बनाएको सामुदायिक संघसंस्था परिचालन उपसमिति अन्तर्गत आदिवासी जनजाति महासंघ, नेपालले छुट्टै निर्वाचन परिचालन उपसमिति निर्माण गरेर उपनिर्वाचनको तयारीमा जुटेको छ । नेकपा उम्मेदवार विद्यालाई जिताउन कास्की क्षेत्र नं. २ अन्तर्गत पोखरा महानगरपालिकाका ११ वटै वडामा वडास्तरीय आदिवासी जनजाति महासंघ नेपाल, निर्वाचन परिचालन उपसमिति निर्माणलाई तीव्रता दिइएको आदिवासी जनजाति महासंघ, नेपाल निर्वाचन परिचालन उपसमितिका संयोजक चेतबहादुर गुरुङले जानकारी दिनुभयो ।
संयोजक गुरुङका अनुसार वडा नं. ७ मा गणेश श्रेष्ठको संयोजकत्वमा ५१ सदस्यीय, वडा नं. १७ मा नगेन्द्र गुरुङको संयोजकत्वमा ५१ सदस्यीय, वडा नं. १६ मा राजेश गुरुङको संयोजकत्वमा २६ सदस्यीय आदिवासी जनजाति महासंघ, नेपालको निर्वाचन परिचालन उपसमिति निर्माण गरिएको छ । त्यस्तै, वडा नं. २१ मा मेजर दीपेन्द्र गुरुङको संयोजकत्वमा २६ सदस्यीय, वडा नं. ३३ मा नरबहादुर पुनको संयोजकत्वमा २६ सदस्यीय र वडा नं. ४ मा राजकुमारी भुजेलको संयोजकत्वमा २६ सदस्यीय आदिवासी जनजातिको निर्वाचन परिचालन उपसमिति निर्माण गरिएको आदिवासी जनजाति महासंघ, नेपाल निर्वाचन परिचालन उपसमितिका सह–संयोजक रामबहादुर थापाले जानकारी दिनुभयो ।
यसैबीच, बुधबार वडा नं. ९ को आदिवासी जनजाति भेला सम्पन्न भएको छ । भेलाले पूर्णबहादुर राना इञ्चार्ज रहने गरी प्रेम गुरुङको संयोजकत्वमा ५१ सदस्यीय निर्वाचन परिचालन उपसमिति निर्माण गरेको छ । जसको सह–संयोजकमा दिलमाया गुरुङ, सचिवमा लेखमाया थापा, सह–सचिवमा यमुना गुरुङ र कोषाध्यक्षमा कन्या गुरुङ रहनुभएको छ ।
भेलालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तुलबहादुर गुरुङले आदिवासी जनजातिको पक्षमा संविधानले समावेशी र समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गराएको बताउनुभयो । आदिवासी जनजाति समुदाय तल पर्ने र दोस्रो दर्जाको नागरिकका रुपमा बाँच्नुपर्ने अवस्थाको अन्त्य भएको बताउँदै नेता गुरुङले सबैले बराबरी हक प्राप्त गर्ने अवस्था आएको उल्लेख गर्नुभयो ।
अर्का केन्द्रीय सदस्य एवं कास्की जिल्ला सह–इञ्चार्ज श्रीनाथ बरालले आदिवासी जनजाति समुदाय र सुकुम्बासी, भूमिहीनका समस्या समाधानका लागि पार्टी र सरकार प्रतिबद्ध रहेको बताउनुभयो । नेकपाका गण्डकी प्रदेश कमिटी सदस्य एवं सामुदायिक संघसंस्था परिचालन उपसमिति संयोजक झकबहादुर थापाले नेकपा गरिब, किसान, भूमिहीन एवं उत्पीडित समुदायको पार्टी भएको बताउनुभयो ।
नेकपाका अर्का गण्डकी प्रदेश कमिटी सदस्य लोकबहादुर थापाले शोषित पीडित जनताको पक्षमा कम्युनिष्ट पार्टीले निरन्तर काम गरिरहेको बताउँदै अझै धेरै विकास निर्माणका काम अघि बढाउन उपनिर्वाचनमा नेकपा उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभयो । नेकपा, कास्की जिल्ला सदस्य एवं गण्डकी प्रदेशसभा सदस्य प्रभा कोइरालाले कसैको अनुचित प्रलोभनमा नपरी दुःखी, गरिब जनताको पार्टी नेकपालाई मतदान गर्न आग्रह गर्नुभयो ।
प्रेम गुरुङको अध्यक्षतामा भएको भेलामा आदिवासी जनजाति महासंघ, नेपाल निर्वाचन परिचालन उपसमिति संयोजक चेतबहादुर गुरुङ, प्रेस संगठन नेपालका नेता रूद्रबहादुर श्रीस, नेकपा वडा नं. ९ का अध्यक्ष बमबहादुर कार्की, दिलमाया गुरुङ र पूर्णबहादुर रानाले पनि बोल्नुभएको थियो ।

Advertisment