नेपालको राष्ट्रिय स्वाधीनतामाथि गम्भीर संकट ः देव गुरुङ

पोखरा, २० कात्तिक
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवं संसदीय दलका प्रमुख सचेतक देव गुरुङले नेपालको राष्ट्रिय स्वाधीनतामाथि गम्भीर संकट आइपरेको बताउनुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत् नेकपा प्रमुख सचेतक गुरुङले राष्ट्रिय स्वाधीनताको रक्षाका निम्ति एकजुट हुनुपर्ने बेला आएको समेत बताउनुभएको छ ।
“हालै भारत सरकारले सार्वजनिक गरेको भारतको नक्सामा लिपु लेकदेखि लिम्पियाधुरासम्मको भूभाग भारमा पारिएको, नेपालमा भारतीय मुजाहिद्दिन आतंकवादी चलखेलको थलो बनेको भनी अमेरिकी सरकारको एउटा प्रतिवेदन सार्वजनिक भएको, हिन्द–प्रशान्त सैन्य गठबन्धनको बढ्दो अमेरिकी सरकारको रणनीतिलगायतका घटनाक्रमहरूले नेपालको राष्ट्रिय स्वाधीनतामाथि झन झन गम्भीर संकट बढ्दै गइरहेको देखिन्छ”, उहाँले भन्नुभएको छ, “यस स्थितिमा नेपालका सम्पूर्ण कम्युनिष्टहरू अझ एकताबद्ध हुँदै गैर कम्युनिष्ट राजनैतिक दलहरूसँग समेत राष्ट्रियताको मुद्दामा सहकार्य गर्दै राष्ट्रिय स्वाधीनताको रक्षाका निम्ति एकजुट हुन सम्पूर्ण देशभक्त र न्यायप्रेमी नेपाली जनताप्रति अपिल गर्नुपर्ने देखिन्छ ।”
नेकपा नेता गुरुङले राष्ट्रियताको पक्षमा विभिन्न समयमा अभिव्यक्ति दिँदै आउनुभएको छ । पछिल्लो समय नेपालको राष्ट्रिय स्वाधीनता गम्भीर संकटमा परेको उहाँको ठम्याइ छ ।

Advertisment