जनताले महसुस गर्ने गरी विकासका काम अघि बढेका छन् ः नेता सुनिल

थम्मन थापा
गलकोट, ९ कात्तिक
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा बागलुङ क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद् देवेन्द्र पौडेल ‘सुनिल’ले नेपालमा समावेशी समानुपातिक पहुँच र प्रतिनिधित्वको सुनिश्चित प्रणाली भएको लोकतन्त्र अपनाइएको बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा), गलकोट नगर कमिटी, बागलुङले बडा दशैं, तिहार, नेपाल सम्वत् ११४० तथा छठ पर्वका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।


हरेक चाडपर्वहरू नेपालीहरूबीचको एकता, सद्भाव साट्ने प्रतिकको रुपमा रहेको बताउनुभयो । मिलेर राणा शासन फाल्यौं, पञ्चायती फाल्यौं, राजा फाल्यौं, संविधान बनायौं र अब देशमा दुई तिहाइको सरकारले देशको समृद्धिमा क्रमिक रुपमा अगाडि बढिरहेको भन्दै अब जनताले त्यसको बिस्तारै महसुस गर्ने गरि विकास निर्माणका कार्यहरू अगाडि बढिरहेको नेता सुनिलले दाबी गर्नुभयो ।
अब प्रत्येक पालिका सदरमुकामसँग कालोपत्रे सडक बनाउन सरकारले गृहकार्य गरिरहेको उहाँले बताउनुभयो । मध्यपहाडी लोकमार्गको बागलुङ बजारदेखि घोडाबाँधेसम्म खण्डमा पटक पटक विभिन्न बहानामा काम हुन नसकेको र अहिले सरकारले त्यसतर्फ उच्च निगरानी गरिरहेको र काम अनि त्यही अनुरुप अगाडि बढिरहेको बताउनुभयो । त्यस्तै, गलकोट नगरपालिका र ताराखोला गाउँपालिका हुँदै म्याग्दी जोड्ने सडक र मल्म, पाण्डवखानी, रणसिंहकिटेनी, खुंगा हुँदै बुर्तिबाङ, ढोरपाटन जोड्ने सडक लाइफलाइनको रुपमा रहेको भन्दै सरकारले चरणबद्ध रुपमा स्तरोन्नति गर्दै कालोपत्रे गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । त्यसले यस क्षेत्रको विकासमा थप टेवा पुग्ने नेता सुनिलले बताउनुभयो ।
त्यस्तै, गण्डकी प्रदेशका सांसद् चन्द्रबहादुर बुढा ‘सागर’ले संघीयताको सुन्दर पक्ष भनेको आम जनताको पहुँच र अधिकार प्राप्ति भएको बताउनुभयो । देशमा नयाँ संविधान निर्माण भइसकेको हुँदा अब नयाँ सन्दर्भ र परिवेशमा हामीहरू रहिरहेको र अब संघीयताको मोडलमा देशको विकास र समृद्धिमा सबै सरकार लागिपरेको सांसद् सागरले बताउनुभयो ।


शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङ जिल्ला इञ्चार्ज बलावती शर्मा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला सचिव ज्ञामनाथ गैरे ‘अनिल’, गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरे, ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्ती, नेपाली कांग्रेस, गलकोट नगर सभापति नारायणध्वज मल्ल र राष्ट्रिय जनमोर्चा, गलकोट नगर कमिटी अध्यक्ष टंक केसीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता कार्यकर्ताहरू, भातृ संगठनका प्रमुख तथा प्रतिनिधिहरू, विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, जनप्रतिनिधिहरूलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गलकोट नगर कमिटीका अध्यक्ष ललित श्रीसको अध्यक्षता, नेकपा नगर कार्यालय सदस्य कौशिला घर्तीको स्वागत मन्तव्य र सचिव डम्मर श्रीसको सञ्चालनमा सम्पन्न भएको थियो ।

Advertisment