पोखरा महानगरपालिका वडा नं. १५ को शुभकामना आदानप्रदान तथा चियापान

पोखरा, ८ कात्तिक
पोखरा महानगरपालिका वडा नं. १५ ले बडा दशैं, तिहार, नेपाल सम्वत् ११४० तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।
शुक्रबार आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशकी सांसद् प्रभा कोइरालाले संघीयताको मूल मर्म भनेकै विकास र समृद्धि भएको बताउनुभयो । संघीयताको सही अभ्यासबाट विकासको बाटोमा देश अघि बढेको भन्दै सांसद् कोइरालाले जनतालाई सुखी र सम्पन्न बनाउन सरकारले काम गरिरहेको दाबी गर्नुभयो ।
जनताका समस्या बुझेर जनप्रतिनिधिहरूले काम गर्नुपर्नेमा जोड दिँदै सांसद् कोइरालाले हरेक वडा र गाउँ बस्तीमा विकासको लहर ल्याउन तीनै तहका सरकार लागिपरेको जिकिर गर्नुभयो । जनताका काम गर्न जनप्रतिनिधिले हिच्किचाउन नहुने बताउँदै उहाँले जायज र जनमुखी काम गर्न जनप्रतिनिधि र कर्मचारीलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा वडाध्यक्ष प्रकाश पौडेलले एउटा वडाबाट अर्को वडामा पुग्न सहज सडक सुविधा नभएका कारण विकास, निर्माणमा समस्या भएको भन्दै पूर्वाधार विकासका लागि वडाले आफ्नो काम अघि बढाएको बताउनुभयो । वडाभित्र भएका समस्या पहिचान गरी समाधानका लागि आफूले निरन्तर पहल गरिरहेको भन्दै वडाध्यक्ष पौडेलले मूल सडक र शाखा सडक निर्माणका लागि पहल भइरहेको बताउनुभयो ।
सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), वडा कमिटीका अध्यक्ष भक्तबहादुर खत्री, नेपाली कांग्रेसका वडा सभापति टोपबहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि घनश्याम गौतम, वडा सदस्यहरू रूकबहादुर गुरुङ, पार्वती कार्की र मन्दिरा परियार, पूर्व वडाध्यक्षहरू मीनबहादुर गिरी, शिवबहादुर बानियाँ र रोमबहादुर भण्डारीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सहभागी वडाबासीले एक आपसमा शुभकामना साटासाट गर्दै चियापानमा सरिक भएका थिए । कार्यक्रममा वडा सचिव स्थानेश्वर ढुंगानाले पनि बोल्नुभएको थियो ।

Advertisment