मृगौलापीडित श्रीसलाई बेलायतमा संकलित १ लाख ५० हजार हस्तान्तरण

पोखरा, ३० भदौ
दुवै मृगौला खराब भइ उपचाररत बागलुङको गलकोट नगरपालिका वडा नं. २, नरेठाँटी, घसघसाका ३६ वर्षीय गमप्रसाद श्रीसमगरलाई बेलायतमा संकलित १ लाख ५० हजार रुपैयाँ नगद हस्तान्तरण गरिएको छ ।
मेजर देवबहादुर पुनको पहलमा बेलायतमा संकलित सो रकम आइतबार बागलुङ–पोखरा मगर समाजद्वारा आयोजित विशेष कार्यक्रममा मृगौलापीडित श्रीसलाई हस्तान्तरण गरिएको हो । मेजर पुनसहित बागलुङ–पोखरा मगर समाजका अध्यक्ष रामबहादुर पुनले संयुक्त रुपमा सो सहयोग रकम मृगौलापीडित श्रीसलाई हस्तान्तरण गर्नुभएको हो । साथै, सो अवसरमा बागलुङ–पोखरा मगर समाजका लागि पनि मेजर पुनले सहयोगस्वरुप १० हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको थियो ।
मृगौलापीडित श्रीसलाई संकलित सहयोग रकम हस्तान्तरण गर्दै थोरै भएपनि उपचारमा सहयोग गर्न बेलायतमा आफूले आर्थिक सहयोगको आह्वान गरेको बताउनुभयो । श्रीसको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मेजर पुनले श्रीसको उपचारका लागि सबैले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । मृगौलापीडित श्रीसले मेजर पुनलगायत बेलायतबासी नेपालीहरूलाई सहयोगका लागि धन्यवाद दिँदै आफूले आर्थिक अभावका कारण मृगौला प्रत्यारोपण गर्न नसकेको भन्दै अझै पनि आफूलाई सहयोगको खाँचो रहेको बताउनुभयो ।
वैदेशिक रोजगारीका शिलशिलामा संयुक्त अरब इमिरेट्सको दुबईमा सात वर्ष कार्यरत मृगौलापीडित श्रीस बिरामी भएपछि स्वदेश फर्कनुभएको थियो । नेपाल आएर स्वास्थ्य परीक्षण गरेपछि दुवै मृगौला फेल भएको पत्ता लागेको उहाँले जानकारी दिनुभयो । सुरुमा काठमाडौंको निदान अस्पतालमा स्वास्थ्य परीक्षणपश्चात उपचार सुरु गरेको र पछि वीर अस्पतालमा डाइलासिस सुरु गरेको मृगौलापीडित श्रीसले बताउनुभयो । हालः पोखराको लेकसिटी हस्पिटल एण्ड रिसर्च सेन्टरमा नियमित डाइलासिस गराइरहनुभएका उहाँले मृगौला प्रत्यारोपणका लागि ठूलो धनराशी खर्च हुने भएकाले आर्थिक अभावका कारण उपचारमा समस्या भएको उल्लेख गर्नुभयो ।
यसअघि, पनि जापानबाट साढे पाँच लाख रुपैयाँ, दक्षिण कोरियाबाट २ लाख १२ हजार र बागलुङ–पोखरा मगर समाजबाट ४० हजार ५ सय ५ रुपैयाँ सहयोग आएको मृगौलापीडित श्रीसले बताउनुभयो । चिकित्सकले मृगौला प्रत्यारोपणका लागि ३०र४० लाख रुपैयाँ खर्च हुने बताएकोले सहयोग रकम जुटेमा मृगौला प्रत्यारोपणका लागि प्रक्रिया अघि बढाउने उहाँको भनाइ छ । हालसम्म सहयोग गर्नेहरूलाई धन्यवाद दिँदै उहाँले सहयोगी मनहरूको साथले आफूले नयाँ जीवन पाएको अनुभूति गरेको समेत बताउनुभयो । आर्थिक अभावका कारण नियमित डाइलोसिस र थप उपचारमा समस्या भएकाले सहयोगका लागि उहाँले सबैसँग याचना समेत गर्नुभएको छ ।

Advertisment