साहित्यकार उजीर रानालाई मगर आदिकवि रेखबहादुर पुरस्कार

पोखरा, २१ भदौ
नवलपुरनिवासी मगर साहित्यकार उजीर रानामगरलाई यस वर्षको ‘मगर आदिकवि सु. रेखबहादुर सारूमगर स्मृति साहित्य पुरस्कार–२०७६’ प्रदान गरिने भएको छ ।
नेपाल मगर लेखक संघ, गण्डकी प्रदेश समितिको शनिबार पोखरामा सम्पन्न बैठकले साहित्यकार रानामगरलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको अध्यक्ष धिरेन्द्र थापामगर ‘किसानी’ले जानकारी दिनुभयो । संघका केन्द्रीय सदस्य रूद्रबहादुर श्रीसमगर संयोजकत्वको प्रतिभा छनौट समितिले साहित्यकार रानामगरलाई पुरस्कार दिन सिफारिस गरेको थियो । प्रतिभा छनौट समितिमा प्रदेश समितिकी निवर्तमान अध्यक्ष गीता थापामगर र अध्यक्ष धिरेन्द्र थापामगर ‘किसानी’ सदस्य रहनुभएको थियो ।
साहित्यकार रानामगरलाई यही भदौ २८ गते मगर भाषाका आदिकवि रेखबहादुरको ७६ औं जन्मजयन्तीका अवसरमा सो पुरस्कार प्रदान गरिने सचिव कृष्ण थापामगर ‘मीगीन’ले जानकारी दिनुभयो । पुरस्कारको राशि सात हजार रुपैयाँ नगद, सम्मानपत्र र भाङ्ग्राले पुरस्कृत साहित्यकारलाई सम्मान गरिने उहाँले बताउनुभयो । यस पुरस्कारबाट यसअघि, फूलकुमारी थापामगर, लोकबहादुर थापामगर र रूद्रबहादुर हितानमगर सम्मानित भइसक्नुभएको छ ।

Advertisment