मृगौलापीडित श्रीसलाई दक्षिण कोरियाबाट २ लाख सहयोग

पोखरा, ८ साउन
दुवै मृगौला खराब भइ उपचाररत बागलुङको गलकोट नगरपालिका वडा नं. २, नरेठाँटी, घसघसाका ३६ वर्षीय गमप्रसाद श्रीसमगरलाई दक्षिण कोरियाबाट संकलित २ लाख १२ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ ।
मृगौलापीडित श्रीसलाई नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशका सचिव रूद्रबहादुर श्रीस, बागलुङ–पोखरा मगर समाजका पूर्वअध्यक्ष एवं सल्लाहकार भीमबहादुर श्रीस, सल्लाहकार उर्मिला श्रीस, समाजसेवी रामसिंह पुन र मोहन मगरको रोहवरमा सो रकम हस्तान्तरण गरिएको हो । बागलुङ समाज, दक्षिण कोरियाका पूर्वअध्यक्ष यम श्रीस, मीन पुन, झरना पुन र मोन रानाको सक्रियतामा दक्षिण कोरियामा रहेका नेपालीहरूले मृगौलापीडित श्रीसको उपचार सहयोगका लागि सो रकम संकलन गरेका हुन् ।


वैदेशिक रोजगारीका शिलशिलामा संयुक्त अरब इमिरेट्सको दुबईमा सात वर्ष कार्यरत मृगौलापीडित श्रीस बिरामी भएपछि स्वदेश फर्कनुभएको थियो । नेपाल आएर स्वास्थ्य परीक्षण गरेपछि दुवै मृगौला फेल भएको पत्ता लागेको उहाँले जानकारी दिनुभयो । सुरुमा काठमाडौंको निदान अस्पतालमा स्वास्थ्य परीक्षणपश्चात उपचार सुरु गरेको र पछि वीर अस्पतालमा डाइलासिस सुरु गरेको मृगौलापीडित श्रीसले बताउनुभयो । हाल ः पोखराको लेकसिटी हस्पिटल एण्ड रिसर्च सेन्टरमा नियमित डाइलासिस गराइरहनुभएका उहाँले मृगौला प्रत्यारोपणका लागि ठूलो धनराशी खर्च हुने भएकाले आर्थिक अभावका कारण उपचारमा समस्या भएको उल्लेख गर्नुभयो ।
यसअघि, पनि जापानबाट साढे पाँच लाख रुपैयाँ सहयोग आएको मृगौलापीडित श्रीसले बताउनुभयो । चिकित्सकले मृगौला प्रत्यारोपणका लागि ३०/४० लाख रुपैयाँ खर्च हुने बताएकोले सहयोग रकम जुटेमा मृगौला प्रत्यारोपणका लागि प्रक्रिया अघि बढाउने उहाँको भनाइ छ । हालसम्म सहयोग गर्नेहरूलाई धन्यवाद दिँदै उहाँले सहयोगी मनहरूको साथले आफूले नयाँ जीवन पाएको अनुभूति गरेको समेत बताउनुभयो । आर्थिक अभावका कारण नियमित डाइलोसिस र थप उपचारमा समस्या भएकाले सहयोगका लागि उहाँले सबैसँग याचना समेत गर्नुभएको छ ।

Advertisment