मगर संघ कास्कीमा पहिलोपटक महिला नेतृत्व, अध्यक्षमा संगीता पुनमगर

पोखरा, २९ असार
नेपाल मगर संघ, कास्कीले पहिलोपटक महिला नेतृत्व पाएको छ । संघको शनिबार सम्पन्न आठौं जिल्ला अधिवेशन तथा २४ औं जिल्ला सम्मेलनबाट संगीता पुनमगर अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ । पुनमगर यसअघि, सह–सचिव हुनुहुन्थ्यो ।
अधिवेशनबाट उपाध्यक्षमा बुद्धिमाया थापामगर, सचिवमा रामबहादुर थापामगर, सह–सचिवमा लालबहादुर रानामगर र कोषाध्यक्षमा चन्द्रबहादुर पुर्जामगर निर्विरोध निर्वाचित हुनुभयो । त्यसैगरी, सदस्यहरूमा सुवास घर्तीमगर, ओमबहादुर थापामगर, पुष्पा पुनमगर, जीवनकुमार थापामगर, सुशीला रानामगर, भक्तबहादुर पुनमगर, दलबहादुर श्रीसमगर, डिलबहादुर श्रीसमगर, मीना थापामगर, टिकाराम फगामीमगर, गोविन्द पुनमगर, रामबहादुर पुनमगर, दिनेश रोकामगर, रिमबहादुर रानामगर, भीमबहादुर पुनमगर र देउकुमारी थापामगर निर्वाचित हुनुभएको छ ।


यसअघि, अधिवेशनको उद्घाटन गर्दै नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नवीन रोकामगरले एकजुट भए मात्र अधिकार प्राप्तिको लडाइँमा सफलता प्राप्त हुने बताउनुभयो । मगर जातिलाई थर वा भाषाका नाममा फुटाउने दुष्प्रयास असफल भइसकेको भन्दै अध्यक्ष रोकामगरले फेरि पनि त्यस्तो प्रयास भए मगर संघलाई सैह्य नहुने चेतावनी दिनुभयो ।
मगर जातिभित्र भएको भाषिक विविधतालाई स्वीकार गरेर मात्र मगर समुदायको नेतृत्व गर्न सक्ने भन्दै उहाँले विविधतालाई स्वीकार नगरे द्वन्द्व निम्तिनेतर्फ सचेत गराउनुभयो । मगर जातिलगायतका आदिवासी जनजाति समुदायले समानता खोजेको भन्दै रोकामगरले मगर जातिले आफ्नो पहिचान खोज्दा जातिवाद भन्नेहरू नै असली जातिवादी भएको बताउनुभयो ।
नेपाल मगर संघका पूर्वअध्यक्ष एवं वर्तमान केन्द्रीय संरक्षक झकबहादुर थापामगरले प्राप्त भएका अधिकारको प्रयोग गर्दै राज्यका हरेक निकायमा मगर जातिको पहुँच र प्रतिनिधित्व बढाउनतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । हरेक क्षेत्रमा मगर जातिको उपस्थिति हुनुपर्ने भन्दै उहाँले त्यसका लागि मगर संघले माध्यमको रुपमा भूमिका खेल्न सक्ने धारणा राख्नुभयो ।
संघकी केन्द्रीय उपाध्यक्ष मन्धरी आलेमगरले जुनसुकै पार्टीमा आस्था भएपनि मगर जाति एक हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । त्यस्तै, संघका महासचिव ज्ञानेन्द्र पुनमगरले अझै पनि मगर समुदाय राज्यको मूलधारबाट बाहिर रहेको भन्दै मगर संघले विकृति, विसंगतिबाट मुक्त सभ्य मगर समाजको परिकल्पना गरेको भनाइ राख्नुभयो ।
सो अवसरमा संघका केन्द्रीय सह–कोषाध्यक्ष कृष्णबहादुर रानामगर, केन्द्रीय सदस्य जोकलाल बुढामगर, गण्डकी प्रदेश अध्यक्ष सिद्धान्त थापामगरलगायतले मगरात स्वायत्तताका लागि अझै पनि लडाइँ बाँकी नै रहेको बताउनुभएको थियो ।
नेपाल मगर संघ, कास्कीका निवर्तमान अध्यक्ष पूर्णबहादुर रानामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव यामबहादुर थापामगर र उपाध्यक्ष मे. प्रेमबहादुर थापामगरले स्वागत गर्नुभएको थियो । कार्यक्रममा विगतमा मगर संघ, कास्कीका विभिन्न पदमा रहेर योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको थियो ।

Advertisment