गण्डकी प्रदेशमा प्रगतिशील बहुभाषिक कविता महोत्सवको तयारी

पोखरा, १६ असार
प्रगतिशील लेखक संघ (प्रलेस), नेपाल, गण्डकी प्रदेशले प्रदेशस्तरीय “प्रगतिशील बहुभाषिक कविता महोत्सव–२०७६”को आयोजना गर्ने भएको छ ।
यही असार २१ गते प्रदेश राजधानी पोखरामा हुने महोत्सवमा गण्डकी प्रदेशभित्र बोलिने विभिन्न मातृभाषाका कविता वाचन हुनेछन् । लोपोन्मुख अवस्थामा पुग्न लागेका विभिन्न मातृभाषाहरूको संरक्षण र तिनको साहित्यिक विकासमा टेवा दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको प्रलेसका प्रदेश अध्यक्ष लोकबहादुर थापाले जानकारी दिनुभयो । कविता महोत्सवमार्फत् मातृभाषामा प्रगतिशील सिर्जना गर्न प्रोत्साहित गर्ने उद्देश्य पनि रहेको उहाँले बताउनुभयो ।
महोत्सवमा सहभागिताका लागि यही असार १७ गतेसम्मको अन्तिम म्याद राखी विभिन्न मातृभाषाका कविता माग गरिएको जनाउँदै अध्यक्ष थापाले मातृभाषामा कविता लेखेपनि त्यसको मूल भाव भने नेपाली भाषामा हुनुपर्ने बताउनुभयो । महोत्सव सम्पन्न गर्न अध्यक्ष थापाको संयोजकत्वमा २९ सदस्यीय मूल आयोजक समिति समेत गठन गरिएको छ ।
महोत्सवमा गण्डकी प्रदेशमा प्रमुख रुपमा बोलिने मगर र गुरुङ भाषासहित थारू, तामाङ, नेपालभाषा, थकाली, छन्त्याल, भुजेल, कुमाल, माझी, दरै, मगर खाम, बोटे, दुरालगायतका मातृभाषामा कविता वाचन हुनेछ । त्यस्तै, चाम्लिङ, कुलुङ, थुलुङ, बान्तवा, लिम्बू, याख्खा भाषामा पनि कविता वाचन हुने महोत्सवका प्रचारप्रसार संयोजक रूद्रबहादुर श्रीसले जानकारी दिनुभयो ।
महोत्सव मूल आयोजक समितिको बैठकले महोत्सवमा सहभागी गराइने कविताका लागि केही निश्चित मापदण्ड समेत बनाएको छ । सम्बन्धित मातृभाषाको स्थापित लेखन परम्परामा आधारित हुनुपर्ने, राष्ट्रवादी र देशभक्त भावनाले ओतप्रोत भएको, व्यक्तिगत आक्षेप वा राजनैतिक गालीगलौज गर्न नपाइने, नेपाली भाषामा कविताको मूल भाव उल्लेख गर्नुपर्नेलगायतका मापदण्ड बनाइएको प्रलेस गण्डकीका सचिव नारायण मरासिनीले जानकारी दिनुभयो । महोत्सवको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गर्ने आयोजकले जनाएको छ ।

Advertisment