राष्ट्रिय मौलिक कौरा संरक्षण पत्रकारिता पुरस्कारबाट पत्रकार तिलक पुन सम्मानित

पोखरा, २५ जेठ
‘राष्ट्रिय मौलिक कौरा संरक्षण पत्रकारिता पुरस्कार–२०७६’ बाट अग्रज पत्रकार तिलकप्रसाद पुन पुर्जामगर सम्मानित हुनुभएको छ ।
राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालद्वारा स्थापित एवं नेपाल मगर पत्रकार संघ, कास्की शाखाद्वारा सञ्चालित सो पुरस्कारबाट पत्रकार पुन सम्मानित हुनुभएको हो । शनिबार आयोजित कार्यक्रममा मगर संघ, हङकङकी अध्यक्ष युगमाया रानामगर, नेपाल मगर संघका केन्द्रीय संरक्षक झकबहादुर थापामगर र राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालका अध्यक्ष हर्क आलेमगरले १० हजार ५ रुपैयाँ नगद, सम्मानपत्र र दोसल्लासहित पत्रकार पुनलाई सम्मान गर्नुभयो ।


नेपाल मगर पत्रकार संघका केन्द्रीय उपमहासचिव रूद्रबहादुर श्रीसमगरको संयोजकत्वमा पाँच सदस्यीय प्रतिभा छनौट समितिले पत्रकार पुनलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । विगत २५ वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकार पुन नेपाल पत्रकार महासंघको साधारण सदस्य, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का पूर्व केन्द्रीय उपाध्यक्ष, नेपाल मगर पत्रकार संघका केन्द्रीय सल्लाहकार हुनुहुन्छ । त्यस्तै, विभिन्न पत्रपत्रिकाको सम्पादन तथा स्तम्भ लेखनमार्फत् पत्रकारितामा क्रियाशील पत्रकार पुन विशेषगरी, संस्कृतिका क्षेत्रमा कलम चलाउन रुचाउनुहुन्छ ।
कार्यक्रममा बोल्दै मगर संघ, हङकङकी अध्यक्ष युगमाया रानामगरले पछिल्लो समय पत्रकारिता क्षेत्रमा मगर जातिको उपस्थिति बढ्दै गएको भन्दै खुशी व्यक्त गर्नुभयो । मगर पत्रकारहरूले मगर समुदायको भाषा, धर्म, संस्कृति, परम्परा र इतिहासलाई उजागर गर्नुपर्ने बताउँदै उहाँले मगर समुदायलाई सचेत बनाउन समेत मगर पत्रकारको महŒवपूर्ण भूमिका हुने बताउनुभयो । मगर पत्रकारहरूलाई सहयोग गर्न मगर संघ हङकङ र आफू व्यक्तिगत रुपमा पनि सधैं तयार रहेको भन्दै मगर पत्रकारहरूको क्षमता विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
नेपाल मगर संघका पूर्वअध्यक्ष एवं केन्द्रीय संरक्षक झकबहादुर थापामगरले मगर पत्रकारहरूले मगर जातीय एकतालाई सुदृढ गर्न सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताउँदै मगर समुदायको पहिचानलाई स्थापित गर्न समेत पत्रकारिताको क्षेत्रको भूमिका महŒवपूर्ण हुने बताउनुभयो । मगर जातिको भाषा, धर्म, संस्कृति, इतिहास, परम्परा, भेषभूषालगायतको संरक्षण र संवद्र्धनका लागि नेपाल मगर संघको स्थापना जनाउँदै उहाँले जातीय पहिचान स्थापित गर्दै हक, हित र अधिकारका लागि समेत संघले आफूलाई अग्रसर गराउँदै जानुपर्ने आवश्यकता औंल्याउनुभयो । मगर जातिमा कौरा नृत्यलगायत घाँटु, सोरठी, सालैजो, यानीमाया, हुर्रा, पैंस्यारुजस्ता संस्कृति पनि लोकप्रिय रहेको उहाँको भनाइ थियो ।
नेपाल मगर संघका केन्द्रीय सदस्य एवं कास्की जिल्ला अध्यक्ष पूर्णबहादुर रानामगरले पत्रकारिता क्षेत्रमा मगर समुदायको सहभागिता बढ्दै गएको भएपनि अझै पनि सन्तुष्ट हुने अवस्था नरहेको बताउनुभयो । मगर जातिका सवाललाई पत्रकारिता क्षेत्रमार्फत् उजागर गर्नुपर्नेमा जोड दिँदै उहाँले मगर पत्रकारले आफ्ना सामुदायिक चासोलाई पनि ध्यान दिनुपर्ने बताउनुभयो ।
पुरस्कारबाट सम्मानित अग्रज पत्रकार तिलकप्रसाद पुन पुर्जा मगरले मगर संस्कृतिलगायत आदिवासी जनजाति समुदायको संस्कृतिको स्थलगत अध्ययन गर्नु आफ्नो अभिरुचि रहेको भन्दै संस्कृतिका बारेमा आफूले निरन्तर कलम चलाइरहेको उल्लेख गर्नुभयो । पत्रकारिता क्षेत्रमा आफूले गरेको कर्मलाई पुरस्कार प्राप्तिले न्याय गरेको महसुस भएको बताउँदै उहाँले समुदाय र देशप्रति अझै बढी जिम्मेवारीबोध गराएको बताउनुभयो ।
राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालका अध्यक्ष हर्क आलेमगरले मगर जातिको लोकप्रिय संस्कृति मौलिक कौरालाई संरक्षण र प्रचारप्रसारमा टेवा दिने उद्देश्यले मगर पत्रकारलाई प्रोत्साहित गर्न पुरस्कारको स्थापना गरिएको बताउनुभयो । कौराको मौलिकता जोगाउन मगर पत्रकारले आफ्नो कलममार्फत् महŒवपूर्ण भूमिका खेल्न सक्ने जनाउँदै उहाँले भविष्यमा पुरस्कारलाई निरन्तरता दिन अक्षयकोष स्थापना गर्ने सोंच समेत बनाएको बताउनुभयो ।
कार्यक्रममा राजनीतिज्ञ बालकृष्ण काउछामगर, राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालका वरिष्ठ उपाध्यक्ष श्रीबहादुर थापामगर, नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशकी उपाध्यक्ष शान्ति गुरुङ, नेपाल पत्रकार महासंघ, कास्कीका पूर्वअध्यक्ष नारायण कार्की, नेपाल मगर विद्यार्थी संघका केन्द्रीय महासचिव प्रेम रोकामगरलगायतले मगर जातिको लोकप्रिय मौलिक संस्कृति कौरा नाच अहिले सिंगो नेपाली संस्कृतिका रुपमा विकास भएको भन्दै यसको संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए ।
सो अवसरमा मिस मगर नेपाल–२०१९ की बिजेता सनम गर्बुजामगर, फष्ट रनर अप सोनी पुनमगर, सेकेण्ड रनर अप सानिया पुनमगर र भ्यूअर्स च्वाइस अवार्ड बिजेता उषा अर्मजामगरलाई बधाईसहित सम्मान गरिएको थियो । त्यस्तै, नेपाल मगर संघ, कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगर केन्द्रीय सदस्यमा मनोनित भइ पदस्थापन भएकोमा र मगर चलचित्रकर्मी संघ, नेपाल, कास्कीका अध्यक्ष राहुल थापामगरसहित नवनिर्वाचित कार्यसमितिलाई समेत बधाई ज्ञापन गरिएको थियो ।
नेपाल मगर पत्रकार संघ, कास्कीकी उपाध्यक्ष विनु मसराड्डीमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सदस्य पुनम थापामगर र राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालकी उपाध्यक्ष तारामाया थापामगरले स्वागत गर्नुभएको थियो । कार्यक्रममा तनहुँको भिमादबाट आएको कौरा समूहले प्रत्यक्ष कौरा नृत्य समेत प्रस्तुत गरेको थियो । यस पुरस्कारबाट यसअघि, नवलपुरकी पत्रकार कमला रानामगर सम्मानित भइसक्नुभएको छ ।

Advertisment