उपराष्ट्रपति पासाङ र अष्ट्रियाका राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौं, १३ जेठ
उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ले अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेनसँग शिष्टाचार भेट वार्ता गर्नुभएको छ । उपराष्ट्रपति पासाङले स्थानीय समय अनुसार सोमबार अपरान्ह १२ बजे राष्ट्रपति भवन होफवर्गमा अष्ट्रियाका राष्ट्रपति बेलेनसँग शिष्टाचार भेट गर्नुभएको हो ।
भेटमा दुई देशको सम्बन्ध र आपसी सहयोग तथा सहकार्यका विभिन्न विषयमा छलफल भएका छन् । भेटमा उपराष्ट्रपति पासाङले नेपाल र अष्ट्रिया मित्रवत् मुलुक भएको बताउँदै दुई देशबीचको सम्बन्ध थप प्रगाढ बन्दै आइरहेको बताउनुभयो । उहाँले दुई देशबीच धेरै समानताहरु रहेको बताउनुभयो । ‘नेपाल र अष्ट्रिया दुबै भूपरिवेष्ठित र पहाडी मुलुक हुनाले धेरै कुराहरु समान छन्,’ भेटमा उपराष्ट्रपतिले भन्नुभयो, ‘अन्तर्राष्ट्रिय मामिलामा हाम्रा धेरै धारणा समान छन् ।’
उपराष्ट्रपतिले नेपालसँग विभिन्न पक्षमा अष्ट्रियाले गर्न खोजिरेको सहकार्यप्रति खुशी व्यक्त गर्नुभयो । उहाँले नेपाल वैदेशिक लगानीका लागि आधार भूमि भएको बताउँदै लगानीका लागि आग्रह गर्नुभयो । ‘प्राकृतिक सम्पदा, संस्कृति, पर्यटन, कृषि, केवलकार, जलविद्युतका क्षेत्रहरुमा अष्ट्रियासँग हामी सहकार्य गर्न सक्छौँ’, उहाँले भन्नुभयो, ‘यी क्षेत्रमा लगानीका लागि म अनुरोध पनि गर्दछु ।’
भेटका अवसरमा उपराष्ट्रपति पासाङले यूरोपियन यूनियनले नेपाल वायु सेवा निगमको यूरोपियन गन्तव्यमा हुने उडानमा सहजीकरण गरिदिन आग्रह गर्नुभयो । ‘नेपाललाई हवाई सुरक्षा (सेफ्टी)मा धेरै सुधार गरेको छ । दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा छन्,’ उपराष्ट्रपतिले भन्नुभयो, ‘नेपालले हवाई सुरक्षामा गरेको सुधारका आधारमा युरोपियन यूनियनले नयाँ दृष्टिकोण बनाउनेछ भन्ने विश्वास लिएको छु ।’ भेटमा अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेनले अष्ट्रिया र नेपालबीच धेरै कुरामा समानता रहेको बताउनुभयो । ‘अष्ट्रियाको भन्दा नेपालमा धेरै ठूला पहाडहरू छन् । नेपालमा अग्ला पहाड र अष्ट्रियामा होचा पहाड भए पनि हाम्रा सोंचाईहरु समान छन्,’ उहाँले भन्नुभयो ।
अष्ट्रियाका राष्ट्रपतिले पोल्याण्डको कातोबिच भन्ने शहरमा सम्पन्न सिओपी २४ का दौरान सुरु गरिएको जलवायु परिवर्तन सम्बन्धी लक्ष्य बढाउने अभियानमा समर्थन गरिदिन अनुरोध गर्नुभयो । भेटमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, उपराष्ट्रपतिका निजी सचिव सुकबहादुर रोका “शरद्”, अष्ट्रियाका लागि नेपाली राजदूत प्रकाशकुमार सुवेदी, परराष्ट्र मन्त्रालयका सहसचिव भरतराज पौड्याल समेत सहभागी हुनुहुन्थ्यो ।

Advertisment