सञ्जोग लाफा मगरसहित तीन मातृभाषी स्रष्टालाई “मातृभाषा सेवा पुरस्कार”

काठमाडौं, १३ फागुन
मगर भाषाका अग्रज साहित्यकार एवं चलचित्रकर्मी सञ्जोग लाफा मगरसहित तीन मातृभाषी स्रष्टा पुरस्कृत भएका छन् । २० औं अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा बिहीबार ललितपुरमा आयोजित एक समारोहमा मगर भाषाका सञ्जोग लाफा मगर, बान्तवा भाषाका चन्द्रकुमार राई ‘हतुवाली’ र दुमी भाषाका तेजमान राईलाई “मातृभाषा सेवा पुरस्कार” प्रदान गरिएको हो । पुरस्कार राशि जनही २५ हजार रुपैयाँ रहेको छ । पुरस्कृत लाफा मगर आदिकवि जीतबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानका अध्यक्ष समेत हुनुहुन्छ ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले दिएको उक्त पुरस्कार सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले हस्तान्तरण गर्नुभयो । प्रतिष्ठानका उपाध्यक्ष चन्द्रबहादुर गुरुङको सभापतित्वमा भएको कार्यक्रममा मातृभाषामा कविता वाचन पनि गरिएको थियो ।

Advertisment