शहीद कुनै जात विशेषको हुँदैन, लखन थापा सबै नेपालीको प्रथम शहीद ः मन्त्री गुरुङ

पोखरा, २ फागुन
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले शहीद कुनै जात वा समुदाय विशेषको मात्र नहुने बताउनुभएको छ ।
नेपालका प्रथम शहीद लखन थापामगरको १४२ औं स्मृति दिवसका अवसरमा बिहीबार प्रथम शहीद लखन थापामगर शालिक निर्माण तथा व्यवस्थापन समिति, कास्कीले पोखरामा आयोजना गरेको स्मृति सभामा बोल्दै मन्त्री गुरुङले शहीदलाई संकीर्ण घेरामा राख्न नहुनेमा जोड दिनुभयो । लखन थापामगरको इतिहासबारे बोल्दै मन्त्री गुरुङले लखन सबै नेपालीको प्रथम शहीद भएको उल्लेख गर्नुभयो ।
“शहीदलाई कुनै जात वा समुदाय विशेषमा सीमित गर्नु हुँदैन”, उहाँले भन्नुभयो, “शहीद जात विशेषको मात्र होइन, सबै नेपालीको शहीद हो, लखन थापा सबै नेपालीका प्रथम शहीद हुन् ।” सरकारले लखन थापालाई प्रथम शहीद घोषणा गरिसकेको भन्दै मन्त्री गुरुङले प्रथम शहीद लखन थापाका बारेमा अझै थप अनुसन्धान गर्नेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । प्रथम शहीद लखनले जहाँनियाँ निरंकुश राणा शासनविरुद्ध पहिलोपटक सशस्त्र रुपमा धावा बोलेको भन्दै जनताको अधिकारका लागि पहिलो पटक शहीद भएकाले प्रथम शहीदबारे अरु विवाद गर्नु आवश्यक नरहेको उल्लेख गर्नुभयो ।
जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख, प्रहरी उपरीक्षक ओमबहादुर रानाले प्रथम शहीद लखन थापाको योगदानलाई सबैले कदर गर्नुपर्ने उल्लेख गर्नुभयो । शहीदहरूको बलिदानले नै जनतालाई अधिकार सम्पन्न बनाएको उल्लेख गर्दै प्रहरी उपरीक्षक रानाले शहीदको रगतलाई खेर जान नदिन सबै सचेत हुनुपर्ने धारणा राख्नुभयो । शहीदको बलिदानीकै कारण कैयन् नागरिक अधिकार प्राप्त भएको भन्दै उहाँले अधिकारको प्रयोगसँगै कर्तव्य पालनामा पनि ध्यान दिनुपर्ने बताउनुभयो ।
नेपाल मगर संघका पूर्व अध्यक्ष एवं आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका पूर्व उपाध्यक्ष झकबहादुर थापामगरले तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पोखराको लखनचोकमा राखिएको प्रथम शहीदको पूर्ण कदको शालिक अनावरण गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । साथै, बाबुराम सरकारले काठमाडौंको शहीद गेटमा रहेको राजा त्रिभुवनको शालिक हटाइ प्रथम शहीद लखनको शालिक राख्ने निर्णय गरेर प्रशंसनीय काम गरेको भएपनि सर्वोच्च अदालतको आदेशका कारण सो कार्य रोकिएको पनि उहाँले बताउनुभयो । थापामगरले प्रथम शहीद लखन थापासँगै तत्कालिन राणा शासकद्वारा मारिएका अरु छ जना जयसिंह चुमी मगर, विराज थापामगर, जुठ्या थापा, जीतमान गुरुङ, अजयसिंह मगर, अछामी थापालगायतका बारेमा पनि ठोस अनुसन्धान गरी शहीद घोषणा गर्नुपर्ने धारणा राख्नुभयो ।
सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं पूर्व सभासद् राजकाजी गुरुङ “करण”, पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. केशरजंग बरालमगर, नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद्, कास्कीका अध्यक्ष धर्म गुरुङलगायतले प्रथम शहीद लखन थापाले दिएको बलिदानीले वर्तमान राजनैतिक परिर्वतनका लागि महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका थिए ।
लखन थापामगर शालिक निर्माण तथा व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर रानामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ, कास्कीकी अध्यक्ष राजकुमारी भुजेल र नेपाल मगर संघका केन्द्रीय सदस्य खेम पुनमगरले स्वागत गर्नुभएको थियो । यसअघि, मन्त्री गुरुङले पोखराको लखनचोकस्थित प्रथम शहीद लखन थापाको केही दिन अघि मात्र राखिएको पूर्ण कदको शालिकमा माल्यार्पण समेत गर्नुभएको थियो ।

Advertisment