पोखरा–१४, स्वागतनगरमा नवनिर्मित सडक तथा प्रवेशद्वारको उद्घाटन

पोखरा, १४ माघ
पोखरा महानगरपालिका वडा नं. १४, स्वागतनगर, चाउथेमा नवनिर्मित सडक तथा प्रवेशद्वारको उद्घाटन गरिएको छ । आज आयोजित एक कार्यक्रमका बीच वडा नं. १४ का वडाध्यक्ष प्रेमबहादुर कार्कीले नवनिर्मित सडक तथा प्रवेशद्वारको उद्घाटन गर्नुभएको हो ।
सडक तथा प्रवेशद्वार उद्घाटनपछि बोल्दै वडाध्यक्ष कार्कीले वडा नं. १४ लाई पूर्वाधार विकासका दृष्टिले नमुना बनाइने बताउनुभयो । वडालाई हरेक हिसाबले विकसित बनाउन आफू र आफ्नो टिम लागिपरेको बताउँदै वडाध्यक्ष कार्कीले वडाको विकासका लागि जनसहभागिता समेत अति जरुरी रहेको बताउनुभयो । स्थानीयको सक्रियताका कारण नै सडक तथा प्रवेशद्वार निर्माण कार्य सफल हुन सकेको उहाँको भनाइ थियो ।
स्वागत टोल विकास संस्थाको आयोजनामा भएको कार्यक्रममा पोखरा महानगरपालिकाका वरिष्ठ इञ्जिनियर शारदामोहन काफ्ले, टोल विकास संस्थाका सल्लाहकार बालकृष्ण काउछामगर, वडा सदस्य यशोदा भट्टराई, माया बराल क्षत्रीलगायतले वडाको विकासका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।
स्वागत टोल विकास संस्थाका अध्यक्ष सु. देवीबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव क्या. कृष्णबहादुर थापा र उपाध्यक्ष सु.मे. देवबहादुर रानाले स्वागत गर्नुभएको थियो । कुल ८ सय ४६ मिटर लम्बाइ रहेको सडक महानगरपालिकाको पूर्वाधार विकास कार्यक्रम अन्तर्गतको ३४ लाख १७ हजार ८ सय ९७ रुपैयाँ, उपभोक्ताबाट १४ लाख ६४ हजार ८ सय १३ गरी जम्मा ४८ लाख ८२ हजार ७ सय १० रुपैयाँ लागतमा निर्माण गरिएको हो भने ३ लाख १८ हजार रुपैयाँको लागतमा प्रवेशद्वार निर्माण गरिएको हो ।

Advertisment