गण्डकी प्रदेश सरकारद्वारा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

पोखरा, ९ मंसिर
गण्डकी प्रदेश सरकारले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु गरेको छ । सामाजिक विकास मन्त्रालयले आज आइतबार पत्रकार सम्मेलनको आयोजना गरी अभियान सुरु भएको घोषणा गरेको हो ।
सामाजिक विकास मन्त्री नरदेवी पुनले पत्रकार सम्मेलनमार्फत् लैंगिक हिंसा र दुव्र्यवहार, छैन हामीलाई स्वीकार’ भन्ने मूल नाराका साथ अभियान सुरु गरिएको जानकारी दिनुभयो । लैंगिक हिंसा अन्त्यका लागि सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै मन्त्री पुनले आर्थिक सशक्तिकरण र विद्यमान कानूनको कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । महिलाहरूलाई मन्त्रालयमार्फत् व्यवसायिक तालिम दिने तयारी गरिरहेको बताउँदै मन्त्री पुनले हरेक व्यक्तिको आवश्यकता र सम्भावनाका आधारमा व्यवसायिक तालिमका लागि अपिल गरिने उल्लेख गर्नुभयो । जिल्लास्तरमा अभियान सञ्चालनका लागि जिल्ला समन्वय समितिहरूमार्फत् पत्राचार गरिएको उहाँले जानकारी दिनुभयो ।
मन्त्रालयको सामाजिक विकास महाशाखाकी प्रमुख तुलसा अर्यालले लैंगिक हिंसाविरुद्ध कोही पनि चुप लागेर बस्न नहुनेमा जोड दिनुपर्ने आवश्यकता औंल्याउँदै मन्त्रालयले लैंगिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति लिएको उल्लेख गर्नुभयो । सो अवसरमा कार्यक्रमको सञ्चालन महिला विकास अधिकृत विष्णुमाया पौडेलले गर्नुभएको थियो ।
मन्त्रालयले अभियान अन्तर्गत विभिन्न संघसंस्थासँगको सहकार्यमा कार्यक्रमहरू सञ्चालन गरिने जनाएको छ । १६ दिने अभियान अन्तर्गत प्लेकार्डसहितको ¥याली, यौनजन्य हिंसा तथा मनोसामाजिक सुरक्षा विषयमा अन्तरक्रिया, पम्प्लेट प्रकाशन, सेतो रिबन वितरण, महिला कानूनी सचेतनासम्बन्धी अन्तरक्रिया, कार्यप्रगति प्रतिवेदन पेश गर्ने, अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाउने, पोखरा महानगरपालिका अन्तर्गतका विभिन्न वडाहरूमा लैंगिक हिंसाविरुद्धको सचेतना अभियान तथा सेतो रिबन अभियान सञ्चालन गर्ने, अभिभावकसँग लैंगिक हिंसासम्बन्धी मनोसामाजिक परामर्श कार्यक्रमलगायत विभिन्न कार्यक्रम रहेका छन् ।

Advertisment