नीलिमा थापामगरलाई नेपाल आइडल बनाउन पोखरा तात्यो

पोखरा, ५ मंसिर
एपीवान एचडी टेलिभिजनद्वारा सञ्चालित चर्चित रियालिटी शो “नेपाल आइडल सिजन २”मा यतिबेला उत्कृष्ट ७ छानिएका छन् । उत्कृष्ट ७ मा छानिएका प्रतियोगीहरूका शुभचिन्तकहरूले उनीहरूलाई अघि बढाउन निरन्तर भोट गरिरहेका छन् भने विभिन्न अभियान पनि सञ्चालन गरिरहेका छन् ।
पोखराकी नीलिमा थापामगरका शुभचिन्तकहरूले पनि पोखरामा अभियान सुरुवात गरेका छन् । नीलिमा थापामगर नेपाल आइडल बनाऊँ अभियान सहयोग समिति गठन गरेर सुरु भएको अभियान अन्तर्गत अहिले पोखराका विभिन्न ठाउँमा समितिले कार्यक्रम समेत गरिरहेको छ ।


यही शिलशिलामा बुधबार नेपाल मगर संघ कास्कीको सभाहलमा नीलिमा थापामगरलाई नेपाल आइडल बनाउन आह्वान गर्दै विशेष सांगीतिक कार्यक्रम सम्पन्न भएको छ । सहयोग समितिको आयोजनामा भएको कार्यक्रममा विभिन्न कलाकारहरूले नृत्य तथा गायन प्रस्तुत गरे अनि नीलिमालाई भोट गर्न अपिल पनि गरे ।
कार्यक्रममा बोल्दै नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरले नीलिमा कला र गलाकी धनी भएकोले नेपाल आइडल बनाउन सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । नेपालकै पहिलो महिला नेपाल आइडल बनाउन नीलिमालाई भोट दिएर जिताउनुपर्ने भन्दै अध्यक्ष रानामगरले नीलिमा एउटा सीमित समुदाय र क्षेत्रको भन्दा पनि सिंगो नेपालकै चेली भएकोले उनलाई भोट दिएर जिताउनै पर्नेमा जोड दिनुभयो ।
नेपाल लोकतान्त्रिक मगर संघ कास्कीका अध्यक्ष लालबहादुर रानामगरले लुकेर रहेका नेपाली प्रतिभाहरूको प्रस्फुटनका लागि नेपाल आइडल एउटा राम्रो अवसर भएको बताउँदै नेपाल आइडल बन्नका लागि नीलिमा योग्य भएको उल्लेख गर्नुभयो । राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालकी उपाध्यक्ष एवं महिला अधिकारकर्मी तारामाया थापामगरले नीलिमालाई नेपाल आइडल बनाउन सके सम्पूर्ण नेपाली महिलाहरूकै गौरव बढ्ने बताउनुभयो ।
सहयोग समितिका सचिव सुरज थापामगरले नेपाल आइडलका प्रतिस्पर्धीहरू सबै एकसे एक भएपनि नीलिमालाई पहिलो महिला नेपाल आइडल बनाउनुपर्ने बताउँदै सबैको साथ र सहयोगको आवश्यकता रहेको बताउनुभयो । सो अवसरमा गायक एवं संगीतकार विनित जोजिजू, उषा गुरुङ र इशानी दानकुटीले सांगीतिक प्रस्तुती राखेका थिए ।
सहयोग समितिका संयोजक विनित जोजिजूको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव प्रेम थापामगर र चर्चित प्रस्तोता सुरज थापामगर एवं समितिका सह–संयोजक रूद्र श्रीसमगरले स्वागत गर्नुभएको थियो ।
सहयोग समितिले नीलिमा थापामगरलाई नेपाल आइडल बनाउन सहयोग आह्वान गर्दै नीलिमाले अध्ययन गरेको पोखराको रामबजारस्थित कालिका पब्लिक कलेज एवं कालिका माध्यमिक विद्यालयमा समेत विशेष सांगीतिक कार्यक्रम सम्पन्न गरिसकेको छ । सो कार्यक्रममा गायक एवं संगीतकार विनित जोजिजू, गायक एवं हास्य कलाकार सन्तोष बस्याल, इशानी दानकुटीले सांगीतिक प्रस्तुती राखेका थिए । अभियान अन्तर्गत सहयोग समितिले यही शुक्रबार नीलिमाले एसएलसी उत्तीर्ण गरेको विद्यालय पोखरा एकेडेमी, बाटुलेचौरमा विशेष सांगीतिक कार्यक्रम गर्न लागेको संयोजक जोजिजूले जानकारी दिनुभयो ।


नीलिमा थापामगरलाई नेपाल आइडल बनाउने अभियानमा हालसम्म विभिन्न संघसंस्था एवं व्यक्तिहरूले आर्थिक सहयोग पनि गरेका छन् । जसमा कालिका पब्लिक कलेज एवं कालिका माध्यमिक विद्यालयमा भएको कार्यक्रमबाट १० हजार रुपैयाँ, नीलिमाले एसएलसी उत्तीर्ण गरेको बाटुलेचौरस्थित पोखरा एकेडेमीबाट १२ हजार रुपैयाँ, पत्रकार सम्मेलनका क्रममा १४ हजार र नेपाल मगर संघ कास्कीमा भएको कार्यक्रममा १७ हजार ७ सय ८५ रुपैयाँ गरी ५३ हजार ७ सय ८५ संकलन भएको सहयोग समितिका कोषाध्यक्ष मौसम थापामगरले जानकारी दिनुभयो । नीलिमालाई भोट गर्न मोबाइलको म्यासेज बक्समा गइ कोड ०७ टाइप गरी ३१००९ मा पठाउनुपर्नेछ भने इन्टरनेट भोटिङका लागि रेस्पेक्ट एण्ड राइज एप्स डाउनलोड गरी भोट गर्न सकिनेछ ।

Advertisment