मगर संघ हङकङको २१ औं वार्षिकोत्सव सम्पन्न

हङकङ, ६ भदौ

मगर संघ हङकङको २१ औं वार्षिकोत्सव आइतबार सम्पन्न भएको छ ।
वार्षिकोत्सवको उद्घाटन गर्दै मगर जातिको राजनैतिक इतिहासबारे विद्यावारिधि गर्दै गरेका विद्यावारिधि शोधार्थी भोजविक्रम बुढामगरले पछिल्लो समयमा मगरहरू राजनैतिक रुपमा अघि बढ्दै गरेको बताउनुभयो । नेपाल मगर विद्यार्थी संघका पूर्व अध्यक्ष एवं नेपाल लोकतान्त्रिक मगर संघका अध्यक्ष समेत रहेका बुढामगरले मगरहरूले सोंचेजति उपलब्धी हासिल गर्न नसकेपनि निरन्तर संघर्ष जारी राखे बाँकी उपलब्धी पनि हासिल गर्न सकिने उल्लेख गर्नुभयो ।
वार्षिकोत्सवका अवसरमा बुढामगरले मगर जातिको इतिहास र अधिकारमुखी आन्दोलनबारे आफ्नो प्रस्तुती समेत राख्नुभएको थियो । साथै, सो अवसरमा अग्रज मगर अगुवा प्रेम गलामीमगर आफ्नो हङकङ बसाइँ सकेर नेपाल फर्कन लागेकोमा उहाँलाई भव्य बिदाइ समेत गरिएको थियो । कार्यक्रममा बोल्दै मगर अगुवा गलामीमगरले हङकङमा बस्दा समेत आफूले सकेसम्म मगर जातिका लागि समय खर्चेको उल्लेख गर्दै नेपाल बसाइँका क्रममा समेत मगर जातिको अधिकारका लागि निरन्तर लागिपर्ने बताउनुभयो ।
मगर संघ हङकङकी अध्यक्ष युगमाया रानामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव निलम थापामगर र वरिष्ठ उपाध्यक्ष थल श्रीसमगरले स्वागत गर्नुभएको थियो । कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो भने हङकङ नेपाली महासंघकी अध्यक्ष रीता गुरुङ, भारतीय गोर्खा भूतपूर्व सैनिक संघ हङकङका अध्यक्ष मन गुरुङ, तमु समाज हङकङका अध्यक्ष कोमल गुरुङ ‘स्याङ्जाली कान्छा’लगायतको समेत उपस्थिति रहेको थियो ।

Advertisment