पोखराको नागढुंगामा किरण जुस पसलको शुभारम्भ

पोखरा, २४ असार
कास्कीको पोखरा लेखनाथ महानगरपालिका वडा नं. ८, नागढुंगामा किरण जुस पसल सञ्चालनमा आएको छ ।
लामो समयदेखि स्वास्थ्य क्षेत्रमा क्रियाशील किरण गुरुङले सो पसलको सञ्चालनमा ल्याउनुभएको हो । ‘जमराको अमृत रसपान, स्वस्थकर अभियान’ भन्ने नारासहित गुरुङले सो पसल सञ्चालनमा ल्याउनुभएको छ । जुस पसलमा गहुँ र जौको जमराबाट उत्पादित जुस पाइन्छ ।
सो जुस पसलको आइतबार महिला उद्यमी संघ नेपाल, कास्कीकी अध्यक्ष काशी गुरुङले शुभारम्भ गर्नुभयो । पसलको शुभारम्भ गर्दै अध्यक्ष गुरुङले मानिसको स्वास्थ्य क्षेत्रसँग सम्बन्धित व्यवसाय सुरु गरेकोमा बधाई दिनुभयो । महिलाले पनि उद्यम र व्यवसाय गर्न सक्छन् भन्ने उदाहरण दिन सफल भएको भन्दै उहाँले पसलकी सञ्चालिका गुरुङलाई व्यवसायिक सफलताको शुभकामना समेत दिनुभयो ।
होमियोपेथिक चिकित्सक डा. दिलीप पाण्डेले आयुर्वेद विज्ञान अनुसार पनि जमराको जुस मानव स्वास्थ्यका लागि निकै उपयोगी भएको भन्दै जमराको जुस प्रयोगबारे उचित सल्लाहको खाँचो औंल्याउनुभयो । जमराको जुसको उपयोगिताबारे प्रचारप्रसारको आवश्यकता औंल्याउँदै डा. पाण्डेले होमियोपेथीमा निकै पहिलेदेखि नै जमराको जुसको प्रयोग हुँदै आएको बताउनुभयो ।
अर्का चिकित्सक डा. विष्णु चापागाईंले जमराको जुसको सही उपयोग गर्न सके स्वास्थ्यलाई फाइदा हुने भन्दै हरियो जमरामा पाइने क्लोरोफिलले मानव स्वास्थ्यका लागि निकै उपयोगी रहेको बताउनुभयो । जमराको जुसको कुनै पनि बेफाइदा नरहेको बताउँदै डा. चापागाईंले तर, सही सल्लाह अनुसार जुसको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेचर केयर होम प्रालिका सञ्चालक केबी थापा, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ कास्कीकी महासचिव दिलमाया गुरुङ, गुरुङ साहित्यिक मञ्च नेपालकी अध्यक्ष गौरी गुरुङ, एचिभर्स जर्नीका सञ्चालक एवं जीवन प्रशिक्षक सुवास पौडेललगायतले जमराको जुस मानव स्वास्थ्यका लागि निकै उपयोगी रहेको भन्दै सबैले जमराको जुस पिएर स्वस्थ हुनुपर्नेमा जोड दिनुभएको थियो ।
पसलकी सञ्चालिका किरण गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महिला उद्यमी संघ नेपाल, कास्कीकी प्रथम उपाध्यक्ष पार्वती पौडेलले गर्नुभएको थियो ।

Advertisment