राजपा विकास विरोधी होइन, शान्ति र समृद्धि चाहन्छ ः पूर्व मन्त्री चौधरी

पोखरा, २० जेठ
राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवं संघीय संसद्की सांसद् चन्दा चौधरीले राजपा विकास विरोधी नभएको दाबी गर्नुभएको छ ।
पोखरामा आइतबार बिहान नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्व युवा तथा खेलकुद मन्त्री समेत रहनुभएका उहाँले विकास र सरकार विरोधी नभएको दाबी गर्नुभएको हो ।
विगतदेखि नै सरकारलाई साथ दिँदै आएको बताउँदै बहुमत सहितको कम्युनिष्ट सरकारले युवालाई स्वदेश फर्काउन र दिगो विकास दिन सक्ने विश्वास व्यक्त गर्नुभयो ।
सरकार र विकास विरोधी होइनौं, उहाँले भन्नुभयो “जब सम्म जनताले चुनेका रेशम चौधरीलाई बिनासर्त रिहा गरिँदैन तब सम्म हामी सरकारमा जान सक्दैनौ यसको अर्थ भने सरकार विरोधी होईन ।”
उहाँले रेशम चौधरीलाई नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले जुस खुवाएर अनसन तोड्ने क्रममा २३ दिनमै सपथ ग्रहण गराउन आश्वासन दिएपनि पुरा गर्न नसक्दा रुष्ट हुन परेको समेत बताउनुभयो ।
त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओली सँग बिभिन्न चरणका बार्तामा संबिधान संशोधन गर्नेबारे सम्झौता भएपनि कार्यान्वयन हुन नसकेकोले पनि सरकारमा जान नसकेको उहाँले बताउनुभयो ।
संबिधानमा उपेक्षित बर्ग समुदायको पक्षमा धेरै कुरा नसमेटिएकोले संशोधन गरी जनतालाई लोकतन्त्र आएको महसुस गराउनुपर्ने समेत बताउनुभयो ।
उहाँले नेपाल सरकारले ल्याएको बजेट मितब्ययी देखिएपनि सबैलाई समेट्न नसक्ने भन्दै आपत्ति जनाउनुभयो । बजेट बिभिन्न बिद्यामा गहिरो अध्ययन गरेसँगै प्राथमिकता र जनसंख्याको आधारमा बिनियोजन गर्नुपर्ने हो तर बिनियोजित बजेट त्यस्तो देखिएन, उहाँले भन्नुभयो “अझै पनि समय छ, छलफलकै क्रममा रहेकोले संशोधन गर्न तिर सरकाले ध्यान दिन जरुरी देखिन्छ ।”
सांसद् चौधरीले राजपा सरकार र बिकास बिरोधी नभएको जोड दिँदै संबिधान संशोधन र रेशम चौधरीलाई बिना शर्त रिहाइसँगै शपथ ग्रहण गराएको खण्डमा मात्र सरकारमा जान सक्ने समेत बताउनुभएको थियो ।

Advertisment