मादी गाउँपालिका–७ का वडाध्यक्ष गुरुङले सार्वजनिक गरे एक वर्षे उपलब्धी

रूद्र श्रीसमगर
पोखरा, १८ जेठ
कास्कीको मादी गाउँपालिका–७, सिल्दुजुरेका वडाध्यक्ष लालबहादुर गुरुङले आफू निर्वाचित भएको एक वर्ष पूरा भएको अवसरमा बिहीबार आफ्नो वार्षिक उपलब्धी सार्वजनिक गर्नुभएको छ ।
बिहीबार एक कार्यक्रमको आयोजना गरी वडाध्यक्ष गुरुङले आफ्नो नेतृत्वमा वडाभित्र भएका विकास निर्माण तथा अन्य कामहरूको उपलब्धी सार्वजनिक गर्नुभएको हो । वडामा भएका आर्थिक विकास, भौतिक पूर्वाधार विकास, सामाजिक विकास, संस्थागत विकासको उपलब्धी एवं प्रगति विवरण उहाँले सार्वजनिक गर्नुभएको छ ।
विगतमा राजनैतिक आन्दोलनका क्रममा पृथ्वीनारायण क्याम्पस, पोखराको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्ष पदको उम्मेदवारदेखि लामो समयसम्म तत्कालिन जिल्ला विकास समिति, कास्कीको संयन्त्रमा रहेर काम गरेको अनुभव समेत संगाल्नुभएका वडाध्यक्ष गुरुङले एक वर्षको अवधिमा जतिसक्दो जनताको काम खटिएको बताउनुभयो । वडाध्यक्ष गुरुङका अनुसार आर्थिक विकास अन्तर्गत कृषि, पशु, पर्यटन तथा सहकारी, भौतिक पूर्वाधार अन्तर्गत सडक, पुल, विद्युत तथा भवन, सामाजिक विकास अन्तर्गत, खानेपानी, शिक्षा, स्वास्थ्य, युवा, खेलकुद, महिला, दलित, अपाङ्ग, ज्येष्ठ नागरिक, बालबालिका तथा आदिवासी जनजाति, संस्थागत विकास अन्तर्गत सुशासन, मानव संशाधन तथा अनुगमनमा समेत वडाले उल्लेख्य उपलब्धी हासिल गरेको छ ।
वडाध्यक्ष गुरुङले आर्थिक विकास अन्तर्गत ७ बुँदे, भौतिक पूर्वाधार अन्तर्गत १६ बुँदे, सामाजिक विकास अन्तर्गत ९ बुँदे र संस्थागत विकास अन्तर्गत ८ बुँदे उपलब्धी विवरण सार्वजनिक गर्नुभएको छ । एक वर्षको अवधिमा जनताका सबै इच्छा र आकांक्षा पूरा गर्न नसकिएपनि जनताले अपेक्षा गरे अनुरुप थुप्रै कामको सुरुवात गरिएको र आगामी पाँच वर्षभित्र वडालाई समृद्ध बनाउने गरी अघि बढेको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

Advertisment