कौह्रा पत्रकारिता पुरस्कारका लागि प्रतिभा छनौट समिति गठन

रूद्र श्रीसमगर
पोखरा, १७ जेठ
राष्ट्रिय मौलिक कौह्रा संरक्षण समिति, नेपालद्वारा स्थापित तथा नेपाल मगर पत्रकार संघ कास्की शाखाद्वारा सञ्चालित ‘राष्ट्रिय मौलिक कौह्रा संरक्षण पत्रकारिता पुरस्कार–२०७५’ पहिलोपटक प्रदान गरिने भएको छ ।
कौह्रा संरक्षण समितिको तेस्रो स्थापना दिवसको सन्दर्भ पारेर प्रदान गर्न लागिएको पुरस्कारका लागि प्रतिभा छनौट समिति गठन गरिएको छ । मगर पत्रकार संघ कास्की शाखाको बिहीबार बसेको बैठकले संघका केन्द्रीय उपाध्यक्ष एमबी आस्था मगरको संयोजकत्वमा पाँच सदस्यीय प्रतिभा छनौट समिति गठन गरेको छ ।
प्रतिभा छनौट समितिका सदस्यहरूमा कौह्रा संरक्षण समितिका तर्फबाट अध्यक्ष हर्क आलेमगर, मगर पत्रकार संघका केन्द्रीय उपमहासचिव रूद्रबहादुर श्रीसमगर, जिल्ला शाखा अध्यक्ष रूद्रबहादुर हितानमगर र सचिव उमा आलेमगर रहनुभएको छ । पत्रकारिताका माध्यमबाट मगरात क्षेत्रको मौलिक लोकनृत्य कौह्राको संरक्षण तथा प्रचारप्रसारमा योगदान पु¥याएको पत्रकारलाई ५ हजार १ रुपैयाँ नगद तथा दोसल्ला र सम्मानपत्रले पुरस्कृत गरिने संघका शाखा अध्यक्ष हितानमगरले जानकारी दिनुभयो ।
सो पुरस्कार यही जेठ ३० गते विशेष कार्यक्रमको आयोजना गरी प्रदान गरिनेछ । कौह्रा संरक्षण समितिको स्थापना दिवस गणतन्त्र दिवसका दिन जेठ १५ गते भएपनि प्राविधिक कारणवश ढिलाइ हुन गएको कौह्रा संरक्षण समितिका अध्यक्ष आलेमगरले जानकारी दिनुभयो । आगामी वर्षदेखि समितिको स्थापना दिवसकै दिन सो पुरस्कार प्रदान गरिने बताइएको छ ।
यसैबीच, बिहीबारको बैठकले नेपाल मगर पत्रकार संघका केन्द्रीय सचिव मनोज घर्तीमगरका बुबा चन्द्रबहादुर घर्तीमगरको ६८ वर्षको उमेरमा असामयिक निधन भएकोमा दुःख व्यक्त गर्दै समवेदना प्रकट समेत गरेको छ । त्यस्तै, संघका केन्द्रीय उपमहासचिव रूद्रबहादुर श्रीसमगर र केन्द्रीय सल्लाहकार खेमबहादुर सारूमगर क्रमशः नेपाल पत्रकार महासंघ प्रादेशिक समिति, प्रदेश नं. ४ को प्रथम ऐतिहासिक अधिवेशनबाट सचिव तथा कार्यसमिति सदस्य र संघका केन्द्रीय सचिव मनोज घर्तीमगरको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को छैठौं संघीय महाधिवेशनबाट संस्थागततर्फको संघीय सदस्य पदमा निर्विरोध निर्वाचित भएकोमा बधाई ज्ञापन समेत गरेको छ ।

Advertisment