बिरुवा अर्चलेमा पाँच दिने क्षमता विकास तालिम सम्पन्न

रूद्र श्रीसमगर
अर्चले भञ्ज्याङ (स्याङ्जा), ११ जेठ
बिरुवा गाउँपालिका–२, वडा कार्यालय, स्याङ्जाको आयोजना तथा बिरुवा गाउँपालिकाको आर्थिक सहयोगमा अर्चले भञ्ज्याङमा पाँच दिने अपाड्ड तथा आदिवासी जनजाति क्षमता विकास तालिम सम्पन्न भएको छ ।
तालिमको बिहीबार समापन गर्दै बिरुवा गाउँपालिकाका अध्यक्ष चुनप्रसाद शर्माले अपाड्डता भएका व्यक्तिहरूले हीनताबोध गर्न नहुनेमा जोड दिनुभयो । अपाड्डता भएका व्यक्तिहरूले पनि क्षमता विकास गरेर विभिन्न सीपमूलक कार्य गर्न सक्ने भन्दै अध्यक्ष शर्माले अपाड्डता भएका व्यक्ति तथा आदिवासी जनजाति र दलित समुदायका व्यक्तिहरूलाई रोजगारमूलक कार्यक्रममा सहभागी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
‘अब हामीले आयमूलक र उत्पादनमूलक कार्यक्रममा बजेट खर्च गर्नु आवश्यक छ’, अध्यक्ष शर्माले भन्नुभयो, ‘ठूला योजनामा बजेट विनियोजन गर्ने सोंच छ, अब सानातिना योजना भन्दा पनि ठूला योजना निर्माण गर्नुपर्ने आवश्यकता छ ।’ आयआर्जन गर्ने काममा जोड दिनुपर्ने भन्दै शर्माले आफ्नो क्षमता विकास गरेर उद्यमशील बन्नुपर्नेमा जोड दिनुभयो ।
बिरुवा गाउँपालिका–२ का वडाध्यक्ष बुद्धबहादुर आलेले आदिवासी जनजाति बाहुल्य वडा भएकाले पनि आदिवासी जनजाति लक्षित कार्यक्रममा जोड दिइएको बताउँदै आदिवासी जनजातिको भाषा, संस्कृति संरक्षणका लागि समेत गाउँपालिकाले सक्दो बजेट विनियोजन गर्ने गरेको बताउनुभयो । ‘आदिवासी जनजाति, दलित वा अपाड्डको क्षमता विकास नभएसम्म सामुदायिक सशक्तिकरण सम्भव छैन’, वडाध्यक्ष आलेले भन्नुभयो, ‘वडालाई समृद्ध, सभ्य र सुसंस्कृत बनाउन पनि क्षमता विकासको जरुरी छ, सोही अनुसार हामीले कार्यक्रमको आवश्यकता महसुस गरी आयोजना गरेका हौं ।’ आगामी बजेटमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने वडाध्यक्ष आलेले बताउनुभयो ।
बिरुवा गाउँ कार्यपालिका सदस्य तिलकुमारी सार्कीले क्षमता विकास नभएसम्म कुनै पनि कुरामा अघि बढ्न नसकिने भन्दै सामुदायिक सशक्तिकरणका लागि विभिन्न समुदाय र वर्गका व्यक्तिहरूलाई क्षमता विकासको तालिम जरुरी भएको बताउनुभयो । अपाड्डता भएका व्यक्ति, आदिवासी जनजाति तथा दलित समुदायको तालिममा भएको उत्साहजनक सहभागिताले हर्षित भएको भन्दै सार्कीले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो ।
नेपाल पत्रकार महासंघ प्रदेश नं. ४ का सचिव एवं प्रशिक्षक रूद्रबहादुर श्रीसले राज्यबाट विगतमा बहिष्करणमा पारिएका समुदायको सशक्तिकरणका लागि नै तालिमको आयोजना गरिएको भन्दै तालिममा सिकेका कुरालाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिनुभयो । ‘तालिम तालिमका लागि मात्रै भएर हुँदैन’, प्रशिक्षक श्रीसले भन्नुभयो, ‘तालिममा सिकेका कुराहरू व्यवहारमा लागू गर्न सकेको खण्डमा मात्रै तालिमको सार्थकता हुन्छ ।’
अपाड्ड तथा आदिवासी जनजाति क्षमता विकास कार्यक्रमकी अध्यक्ष लालमाया थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वडा सचिव हरिप्रसाद पौडेलले गर्नुभएको थियो । पाँच दिनसम्म चलेको तालिममा इन्द्रप्रसाद पौडेलले स्वास्थ्य, युवराज पराजुलीले अपाड्डता, मोतीप्रसाद मरासिनीले समसामयिक, गुरुप्रसाद ढकालले सामाजिक परम्परा, रामबहादुर खत्रीले योजना तथा कार्यक्रम र रूद्रबहादुर श्रीसले आदिवासी जनजाति विषयमा सहजीकरण गर्नुभएको थियो ।

Advertisment