गुण्डागर्दी र लागू औषधविरुद्ध कडा कारबाही गर्ने एसपी रानाको उद्घोष

रूद्र श्रीसमगर
पोखरा, २ जेठ
हालै मात्र सरुवा भएर आएका जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख, प्रहरी उपरीक्षक ओमबहादुर रानाले गुण्डागर्दी गर्नेविरुद्ध आफू निर्मम हुने भन्दै कसैले हप्ता असुली, डरत्रास देखाउने र धम्क्याउने गरेको पाइए कडा कारबाही गर्ने चेतावनी दिनुभएको छ ।
बुधबार पत्रकार सम्मेलन तथा परिचयात्मक कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक रानाले कास्की जिल्लाभित्र पूर्ण रुपमा गुणराजको अन्त्य हुने बताउनुभयो । ‘गुण्डागर्दीको पूर्ण रुपमा अन्त्य हुन्छ’, रानाले भन्नुभयो, ‘मलाई सूचना दिनुस्, कसैले चन्दा असुली गरेको छ, धम्क्याएको छ, डरत्रास देखाएको छ भने ती गुण्डाहरूमाथि कडा कारबाही हुन्छ ।’
लागू औषध कारोबार एवं ओसारपसारमा संलग्नमाथि कडा कारबाही गरिने भन्दै प्रहरी उपरीक्षक रानाले लागू औषध नियन्त्रणमा विशेष ध्यान दिइने बताउनुभयो । ‘प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल ज्यूको प्राथमिकताको अक्षरशः पालना गर्नेछु’, उहाँले भन्नुभयो, ‘अपराधीको खोज तलास तथा कारबाहीका लागि छुट्टाछुट्टै स्क्वायड (पिलर) खडा गरेर शान्ति, सुरक्षा र अमनचयनका लागि कटिबद्ध भएर लाग्ने मेरो प्रतिबद्धता छ ।’
सो अवसरमा आफ्नो कार्यकालमा गरिने १२ बुँदे कार्ययोजना पनि प्रहरी उपरीक्षक रानाले सार्वजनिक गर्नुभएको छ । जसमा आपराधिक क्रियाकलाप नियन्त्रण, गुण्डागर्दी, घरेलु मदिरा तथा लागू पदार्थ, यौन व्यवसाय र जुवा तास नियन्त्रण, चोरी, लुटपाट तथा कालोबजारी न्यूनिकरण, फरार अपराधीको पक्राउ तथा कारबाही, प्रविधियुक्त नागरिक मैत्री प्रहरी सेवा, भौतिक तथा पूर्वाधारको निर्माण तथा स्तर वृद्धिमा जोडलगायत रहेका छन् । त्यसैगरी, सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक व्यवस्थापनसँगै जनचेतनामूलक कार्यक्रम सञ्चालन, घरेलु हिंसा, लैड्डिक हिंसा, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिउपरका घटना तथा पीडितमैत्री वातावरणको सिर्जना, सामाजिक विकृति, विसंगति र कुसंस्कारविरुद्ध जनचेतनामूलक कार्यक्रमको निरन्तरता साथै, सूचना संकलन एवं प्रमाणमुखी अनुसन्धानमा जोड दिइने उल्लेख गरिएको छ ।
प्रहरी उपरीक्षक रानाले यसअघिका कार्यालय प्रमुख, प्रहरी उपरीक्षक अशोक सिंहको पालामा सुरु गरिएका राम्रा कामको निरन्तरतासहित बाँकी कामलाई पूरा गर्न आफू कटिबद्ध भएर लाग्ने प्रतिबद्धता पनि जनाउनुभएको छ ।
यसैबीच, प्रहरी उपरीक्षक रानाले केही अनलाइन सञ्चारमाध्यममा आफूविरुद्ध प्रकाशित समाचारको खण्डन समेत गर्नुभएको छ । ‘तथ्यहीन र भ्रामक समाचार हो, मेरो विरुद्ध प्रकाशित समाचारबारे आवश्यक छानविन हुनेछ’, उहाँले भन्नुभयो, ‘पुष्टि गर्न सक्नुप¥यो, अनुमान र हचुवाका भरमा जे पनि लेख्न कसैलाई छुट हुँदैन, पुष्टि भए म कारबाही भोग्न तयार छु, अन्यथा, त्यस्तो, तथ्यहीन समाचार लेख्नेलाई कानून बमोजिम कारबाही हुन्छ ।’

Advertisment