ओम डेभलपमेन्ट बैंकको बिरौटा शाखा उद्घाटन

पोखरा, २० वैशाख । ओम डेभलपमेन्ट बैंकको पोखरास्थित बिरौटा शाखा उद्घाटन गरिएको छ । शाखाको बिहीबार नेपाल राष्ट्र बैंक पोखराका निर्देशक पोमनाथ गौतमले उद्घाटन गरेका हुन् । उनले निक्षेपकर्ताको धन सुरक्षित हुनुपर्नेमा जोड दिए । साथै उनले मुलुक समृद्धिको दिशामा अघि बढेको उल्लेख गर्दै हाम्रा कारोबारसमेत पारदर्शी हुनुपर्ने र सबै नेपालीको बैंक खाता होस् भनी कामना गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले राष्ट्रियस्तरको विकास बैंक हुनुको नाताले धेरैभन्दा धेरै शाखाबाट सेवा दिँदैआएको जानकारी दिए । उनले बैंकको हालसम्म ५३ वटा शाखामार्फत सेवा दिँदैआएको र गोरखामा एक्स्टेन्सन काउन्टर, कास्कीको पर्यटकीय क्षेत्र घान्द्रुकबाट नेपालमै पहिलो पटक शाखारहित बैंकिङ्ग सेवा प्रदान गरेको जनाए । बैंकको कास्कीमै १३ र काठमाडौंमा १० शाखा संचालित छन् । बैंकले देशभर १६ वटा एटिएम मेसिनबाट सेवा प्रवाह गरेको छ ।

सिइओ अधिकारीका अनुसार बैंकले चालु आवको चैत्र मसान्तसम्म १९ अर्ब १४ करोड निक्षेप संकलन, १७ अर्ब १० करोड कर्जा लगानी गरेको छ । साथै बैंकको अधिकृत पुँजी ३ अर्ब र चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ रहेको छ ।

सो अवसरमा पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले शाखाको एटिएम उद्घाटन गरे । बैंक अध्यक्ष सुशीलकुमार गोशलीले बिरौटा क्षेत्रमा ओम कान्छो बैंकको रुपमा आएको उल्लेख गर्दै माया गरिदिन अनुरोध गरे । बैंकले २ लाखदेखि ७८ करोड रुपैयाँसम्म ऋण प्रवाह दिन सक्ने जानकारी समेत दिए ।

शाखा प्रबन्धक विजय ढकालले अन्य बैंकको तुलनामा फरक सेवा दिने बताए । बैंकले जर्मनको केएफ डब्लु डेभलपमेन्ट बैंकको सहकार्यमा शाखाबाट कृषि तथा लघु उद्यम कर्जा अन्तर्गत सर्वसुलभ रुपमा २ लाखदेखि ४० लाख सम्मको कर्जा लगानी गर्दै आएको छ । यस्तै बिनाधितो १५ लाखसम्म प्रोफेशनल कर्जा, निःशुल्क आश्वा सेवा दिँदै आएको बैंकले नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिष्टम (नेप्स) नेटवर्कको भिजा कार्ड चाँडै नै संचालन तयारीमा रहेको जनाएको छ ।

Advertisment