१० श्रावण २०८३ ।
लमजुङको मध्यनेपाल नगरपालिकास्थित भानु घाँसी संवाद पार्क भित्र रहेका परोपकारी, ऐतिहासिक तथा प्रेरणादायी व्यक्तित्व घाँसी खड्कबहादुर ठाडा मगरको शालिक तोडफोड गर्ने तनहुँका ३४ वर्षीय रोशन कुँवरलाई प्रहरीले पक्राउ गरेको छ ।
घाँसी खड्कबहादुर ठाडा मगर नेपालका आदिकवि भानुभक्त आचार्यलाई कविता लेख्न र समाजका लागि परोपकारी बन्न प्रेरणा दिने ऐतिहासिक तथा प्रेरणादायी व्यक्तित्व हुन । सो समयमा घाँस काटेर जीवनयापन गर्ने ठाडा मगर सँगको संवादले भानुभक्तलाई अमर बन्ने र नाम राख्ने चेतना जगाएको थियो।

घाँस काटेर जीवनयापन गर्ने खड्कबहादुर ठाडा मगरले समाजका प्यासीहरूलाई पानी खुवाउन कुवा खन्ने र बटुवालाई आराम दिन चौतारो बनाउने परोपकारी काम गरेका थिए।
परोपकारी ब्यक्ति ठाडा मगरको शालिकमा क्षति पुर्याइएको घटनाप्रतिको विरोध गर्दै विभिन्न जनजाति संघसंस्थाहरूले पनि प्रेस विज्ञप्ति मार्फत ध्यानाकर्षण गराएका छन ।






