पोखरा । आईवा एजुकेशन कन्सल्टेन्सी प्रालिद्वारा २७ जना जापानी भाषाका प्रशिक्षार्थी÷विद्यार्थी दीक्षित भएका छन् । उच्च शिक्षा अध्ययनका लागि जापान जान लागेका २७ जना विद्यार्थी दीक्षित भएका हुन् ।
आईवा एजुकेशनमा जापानी भाषा कक्षा लिइ अप्रिल इन्टेकका लागि सीओई प्राप्त गरेका २७ जना विद्यार्थीलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरी प्रमाणपत्र वितरण गरियो । सो कार्यक्रममा बोल्दै विन्ध्यवासिनी क्याम्पस, बाटुलेचौरका क्याम्पस प्रमुख विजय शर्माले आफ्नो करिअर बनाउने उद्देश्यका साथ जापान धेरै विद्यार्थीको रोजाइमा पर्ने गरेको बताउनुभयो । प्रतिभाभन्दा अनुशासन ठूलो भएको भन्दै उहाँले अनुशासनले सफलता दिलाउने धारणा व्यक्त गर्नुभयो । आफूलाई जे काम गर्दा खुशी लाग्छ, त्यही काम गर्न सुझाव दिँदै शर्माले लगनशील भएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीका अध्यक्ष एमबी आस्था मगर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशका इञ्चार्ज रूद्रबहादुर श्रीस, एसटी क्रियशन म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक सुरज थापा, आईवा एजुकेशनका म्यानेजर सुदर्शन गुरुङ, होटल माउण्ट कैलाश रिसोर्टका फुड एण्ड वेभरेज म्यानेजर पुरुषोत्तम भारती, मिस मगर नेपाल–२०२३ विनु रानामगर, प्रियंका गर्बुजा, दीक्षा थापालगायतले उच्च शिक्षा अध्ययनका लागि जापान जान लागेका विद्यार्थीहरूलाई शुभकामना दिनुभयो ।
कार्यक्रममा बोल्ने वक्ताहरूले जापानमा सिकेको ज्ञान, सीप र अनुभवलाई स्वदेश फर्केर उद्यमशीलतासँग जोड्न आवश्यक रहेको जोड दिए । सो अवसरमा विद्यार्थीद्वय हिमाल अर्याल र रोशनी गुरुङले जापानी भाषामा आ–आफ्नो भनाइ व्यक्त गर्नुभएको थियो भने उत्कृष्ट विद्यार्थीद्वय हिमाल अर्याल र सदीक्षा क्षेत्रीलाई नगद पुरस्कारसहित पुरस्कृत गरिएको थियो । कार्यक्रममा गायिका शान्ति श्रीसमगरले आफ्नो गायन प्रस्तुतीमार्फत् मनोरञ्जन दिलाउनुभएको थियो । आईवा एजुकेशनका प्रबन्ध निर्देशक वीरेन रानाको अध्यक्षतामा भएको कार्यक्रममा आईवा एजुकेशनका मार्केटिङ म्यानेजर राजेश श्रीसले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कृष्ण बस्यालले सञ्चालन गर्नुभएको थियो ।
विद्यार्थीलाई शुभकामना दिँदै आईवा एजुकेशनका प्रबन्ध निर्देशक वीरेन रानाले आम अभिभावक र विद्यार्थीको विश्वासका कारण आईवाले सफलता प्राप्त गर्न सफल भएको बताउनुभयो । जापान उत्कृष्ट हस्पिटालिटी भएको देश भएको भन्दै उहाँले विश्वव्यापीकरणको समयमा आफ्नो योग्यता र क्षमता अनुसार अघि बढ्नुपर्ने बताउनुभयो । मार्केटिङ म्यानेजर श्रीसका अनुसार स्थापनाको ६ वर्षमा आईवा एजुकेशनमार्फत् हालसम्म ३५० भन्दा बढी विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि जापान पुग्न सफल भएका छन् ।






