बिन्दा पाण्डेका पुस्तकमाथि पोखरामा परिचर्चा !

पोखरा, २७ असार ।
लेखक तथा अभियान्ता डा विन्दा पाण्डेका पुस्तकहरुका बारेमा पोखरामा शनिबार परिचर्चा गरिएको छ । र्‍यान्डम रिडर्स सोसाइटीले आयोजना गरेको कार्यक्रममा पाण्डेका विभिन्न कृति र नेपाली राजनीतिमा महिलाको योगदानबारे बहस भएको हो । कार्यक्रममा विशेष गरी भुइँमान्छेको श्रम र पसिनाबाट निर्मित राजनीतिमा उनीहरुको उपेक्षा भएको विषयले प्राथमिकता पायो ।
परिचर्चामा बोल्दै पाण्डेले महिलालाई आधा आकाशको सपना देखाएर अधिकारबाट बञ्चित गरिएको बताइन् । अब लालपूर्जासहितको धर्तीमा महिलाको हिस्सेदारी खोज्नुपर्ने उनको तर्क थियो । ‘आधा आकाश आधा धर्ती भनिए पनि लालपूर्जा नहुने आकाश देखाएर हामीलाई अल्झाइयो,’ उनले भनिन् । उनले २०३० सालदेखि विद्यार्थी आन्दोलनमा लागेको अनुभव सुनाउँदै २०४७ सालको संविधान लेखनमा भएका कमजोरी औंल्याइन् । महिलालाई सम्पत्तिमा अधिकार दिए समाज भाँडिन्छ भन्ने सोचले हिजो समस्या पारेको उनले उल्लेख गरिन् ।
कार्यक्रममा स्ट्रगल रानाले ‘नेपाली राजनीतिमा महिला भुइँमान्छेदेखि भूमिगतसम्म’ शीर्षकमा अवधारणा पत्र प्रस्तुत गरे । रानाले पाण्डेको पुस्तक ‘आश्रय, सुरक्षा र सम्पर्कका सारथी भुइँमान्छे’ ले ओझेलमा परेका पात्रको कथा बोलेको बताए । उनले २०२८ सालको झापा विद्रोह र त्यसपछिका संघर्षमा आम नागरिकको त्यागबारे चर्चा गरे ।
पाण्डेले भूमिगत कालमा नेतालाई आश्रय दिने बालकुमारी दराई र विष्णुमाया सुवेदी जस्ता पात्रको स्मरण गरिन् । उनले दरबारमा सरसफाइ गर्ने महिलाले आरु बेचेर नेतालाई दूध हालेको चिया खुवाएको प्रेरक प्रसंग पनि सुनाइन् । हिजोका क्रान्तिकारी नेताहरु आज दलाल पूँजीवादमा फसेको उनको आरोप थियो । ‘यो पार्टी भुइँमान्छेले बनाएका हुन्, तर आज नेताहरु म्यारियट होटलको बाफ निलेर वार्ता गर्छन्,’ उनले भनिन् । भूमिगत कालमा नेता लुक्दा दिसापिसाब कोपरामा जम्मा गरेर व्यवस्थापन गर्ने भुइँमान्छेको त्यागको कदर नभएकोमा उनले असन्तुष्टि जनाइन् ।
अवधारणा पत्रमा झापा विद्रोहका क्रममा विष्णुप्रसाद विमली, ईश्वरी चुँडाल र धर्मप्रसाद ढकाल जमिन्दार मारिएको इतिहास समेटिएको छ । विरेन राजवंशी, रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुईंकेल र नारायण श्रेष्ठलाई जेल सार्ने निहुँमा मारिएको सन्दर्भ पनि त्यहाँ छ । २०३२ सालमा सिपी मैनालीको नेतृत्वमा कोके र २०३५ सालमा माले गठन भएको इतिहासबारे चर्चा भयो । कलाकार शम्भुले राम्रो लुगा लगाउँदा स्पष्टीकरण सोध्ने तर आफ्ना नेता विलासी हुँदा मौन बस्ने प्रवृत्तिमाथि रानाले प्रश्न गरे ।
कार्यक्रममा पुस्तकमाथि विभिन्न व्यक्तित्वले टिप्पणी गरेका थिए । टिप्पणी गर्नेहरुमा ढाकामोहन बराल, हसिना बस्नेत, धीरज परियार र गीता तिवारी थिए । यस्तै विष्णुप्रसाद बास्तोला, कृष्ण केसी र समीप बैरागीले पनि आ–आफ्नो धारणा राखे । लोचना अधिकारी, मोहनहरि पौडेल, माधव बास्तोला र मीरा ढकालले पनि बहसमा भाग लिएका थिए । पाण्डेले आफ्नो पीएचडीको शोधग्रन्थ र संसदीय अनुभवलाई पनि पुस्तकका रुपमा ल्याएको जानकारी दिइन् ।
सोसाइटीका अध्यक्ष दीपक पराजुलीको सभापतित्वमा कार्यक्रम भएको थियो । सचिव धु्रव केसीले कार्यक्रम सञ्चालन गरेका थिए । सोसाइटीले हरेक महिनाको अन्तिम शनिबार यस्ता बौद्धिक बहस सञ्चालन गर्दै आएको छ । कार्यक्रममा पोखराका प्राज्ञिक, राजनीतिक तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरुको बाक्लो उपस्थिति थियो । इतिहासमा नसमेटिएका पात्रहरुलाई प्रकाशमा ल्याउने पाण्डेको प्रयासको सहभागीहरुले प्रशंसा गरे ।

Advertisment