कौराहा संरक्षण पत्रकारिता पुरस्कारबाट पत्रकार मीना थापामगर सम्मानित !

पोखरा, २६ असार ।
‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०८३’ बाट पत्रकार मीना थापामगर पुरस्कृत भएकी छिन् ।
उनलाई गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतबहादुर शेरचनले नगद १५ हजार रुपैयाँ, सम्मानपत्र र घलेकीले सम्मान गरेका हुन् । राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिद्वारा स्थापित उक्त पुरस्कार हरेक वर्ष नेपाल मगर पत्रकार संघ कास्कीले प्रदान गर्दै आइरहेको छ ।
कार्यक्रममा प्रदेशका आर्थिक मामिलामन्त्री शेरचनले आदिवासी जनजातिको संस्कार र संस्कृतिलाई जगेर्ना गर्दै लैजानुपर्ने बताए । गण्डकी प्रदेश संस्कृतिमा धनी भएकाले यसलाई थप प्रवद्र्धन गर्दै लैजानुपर्नेमा उनको जोड थियो । प्रदेशमा भएका संस्कार र सँस्कति केवल गण्डकी प्रदेशमा मात्रै सीमित नभएर अन्य प्रदेशमा समेत चर्चित हुँदै गएकाले यसलाई थप फैलाउँन विषयमा सबैले साथ र सहयोग गर्नुपर्ने उनको भनाइ थियो ।
संविधानले आदिवासी जनजातिलाई धेरै स्थान दिएको समेत मन्त्री शेरचनले बताए । अहिले केही व्यक्तिले संविधान ठीक छैन भन्ने भाष्य निर्माणमा लागिरहेको भएपनि त्यो सत्य नभएको उनको दावी थियो । संविधानले आम नागरिकलाई सबै किसिमका अधिकार प्रदान गरेकाले संविधान खारेजी हुनुपर्छ भन्ने भाष्य गलत भएको उनले बताए । ‘संविधानले हरेका नागरिकलाई बराबर अधिकार दिएको छ, संविधान गलत छ भन्ने भाष्य निर्माण गर्न नलागौं,’ उनले भने, ‘समयलाई चिन्न नसेकेकोमा नेपाल पछाडि परेको हो, त्यसैले समयलाई चिन्न सिकौँ ।’
नेपाल मगर संघका केन्द्रीय अध्यक्ष रक्षाबहादुर रैकामगरले आफ्नो समुदायको भाषा, संस्कृति, संस्कार लगायतका विषयमा कलम चलाएर पत्रकारहरुले योगदान पुर्‍याउनु आवश्यक भएको बताए । राष्ट्रिय जनगणना अनुसार मगरर तेस्रो स्थानमा भएपनि केही कारणले गर्दा पछाडि परिरहेको उनले गुनासो गरे । राज्यको वेवास्ताका कारण लाखौँ मगरहरु अहिले पनि पछाडि परिरहेकाले आफ्नो समुदायका लागि आफैँ एकजुट भएर अगाडि बढ्नुको विकल्प नभएको उनले बताए । गण्डकी प्रदेश सरकाररले मगर र गुरुङ भाषालाई कामकाजी भाषाका रुपमा लागू गरेपनि कार्यान्वयन गर्न बाधा र अड्चन देखाइएको उनले बताए ।


गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारीले मिडियाको क्षेत्रमा महिलाको सहभागिताका विषयमा विषेश ध्यान दिनुपर्ने बताइन् । आदिवासी जनजातिका विषयलाई पत्रकारिताको क्षेत्रबाट पहिचान दिन र उनीहरुको इतिहासका विषयमा जनमानसका बीचमा लैजानु आजको आवश्यकता रहेको उनले सुनाइन् । आदिवासी जनजाति समुदायका महिला पत्रकारलाई प्रोत्साहन गर्न यस्ता पुरस्कारले निकै महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई थियो । महिला पत्रकारका लागि प्रेस रजिष्ट्रार कार्यालयले समेत विषेश कार्यक्रम ल्याउन पहल गरिरहेको समेत उनले बताइन् ।
सम्मानित व्यक्तित्व मीना थापामगरले सम्मानले आफूलाई पत्रकारिता क्षेत्रमा योगदान गर्न अझै हौसला मिलेको बताइन् । पत्रकारिताको क्षेत्रमा लागेर आफ्नो संस्कार र संस्कृतिको विषयमा शब्दमार्फत् योगदान दिन पाउनु आफ्नो सौभाग्य रहेको उनको भनाइ थियो । आगामी दिनमा यही क्षेत्रलाई निरन्तरता दिएर अगाडि बढ्ने उनले प्रतिवद्धता जनाइन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, आदिवासी जनजाति पत्रकार महासंघ फोनिज गण्डकीका उपाध्यक्ष धनबहादुर गुरुङ ‘सुमन’, निट डेन्टलका सञ्चालक वीरेन राना मगर लगायतले कौराहा संरक्षणका लागि पुरस्कारले मगरको मौलिक संस्कृति संरक्षणमा टेवा पुग्ने बताएका थिए ।
प्रतिभा छनौट समितिका संयोजक तथा फोनिज गण्डकीका इन्चार्ज रुद्र श्रीसमगरले सम्मानित व्यक्ति मीना थापामगरको व्याक्तित्व परिचय गराएका थिए । राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिका अध्यक्ष नरमाया आलेमगर पुरस्कारलाई आमागी दिनमा अझ परिस्कृत रुपमा निरन्तरता दिदैं जाने बताइन् ।
कार्यक्रममा चाउथे कदम मार्ग इकाई समितिले मौलिक कौराहा नृत्य तथा मगर साँस्कृतिक संघका सदस्य रमेश थापामगरलगायतले कौराहासँगै गीत प्रस्तुत गरेका थिए ।
यो पुरस्कारबाट यसभन्दा अघि कमला राना मगर, तिलक पुन, प्रताप राना मगर, खेम सारु मगर, एमबी आस्था मगर, मनोज घर्ती मगर, रुद्र श्रीष मगर र शारदा झेडी मगर सम्मानित भइसकेका छन् ।

Advertisment