न्युयोर्क । नेपाली डायस्पोराको अनुभव, सम्बन्ध र पहिचानलाई केन्द्रमा राखेर निर्माण गरिएको वेब सिरिज ‘मन्कला’ को नयाँ एपिसोड मिडिया हबसँगको सहकार्यमा सार्वजनिक भएको छ। अमेरिकाको न्यूयोर्क शहरको पृष्ठभूमिमा निर्माण गरिएको यस सिरिजले प्रारम्भिक एपिसोडहरूबाटै दर्शकमाझ चासो सिर्जना गर्दै आएको छ।

यस नयाँ एपिसोडमा अभिनेता जयन्द्र चिलुवाल महत्वपूर्ण भूमिकामा देखिएका छन्। अमेरिकामा रंगमञ्च तथा स्क्रिन माध्यममा सक्रिय चिलुवालको उपस्थितिले एपिसोडको कथालाई अगाडि बढाउने घटनाक्रमहरूमा महत्वपूर्ण भूमिका खेलेको निर्माण पक्षले जनाएको छ। अभिनयका साथै निर्माण प्रक्रियाका केही महत्वपूर्ण सृजनात्मक पक्षमा पनि उनले सहकार्य गरेका छन्, जसले एपिसोडको कथाबस्तु निर्माणमा सहयोग पुगेको बताइएको छ।
‘मन्कला’ मुख्यतः विदेशमा बसोबास गर्ने नेपाली समुदायको जीवन, सम्बन्ध र सांस्कृतिक पहिचानसँग जोडिएका अनुभवहरूलाई समेट्ने वेब सिरिज हो। न्यूयोर्कको परिवेशमा विकसित हुने कथाले आधुनिक सम्बन्ध, पारिवारिक अपेक्षा र व्यक्तिगत स्वतन्त्रताबीचको द्वन्द्वलाई चित्रण गर्ने प्रयास गरेको छ।

यसबीच, सिरिजको आगामी निर्माण तथा प्रस्तुतीकरणमा नेपालकै स्थापित मिडिया उत्पादन संस्था Media Hub Pvt. Ltd. को सहकार्य जोडिएको छ। नेपाली टेलिभिजन इतिहासमा ‘तितो सत्य’, ‘जिरे खुर्सानी’, ‘मेरी बास्सै’ र ‘भद्रगोल’ जस्ता अत्यन्त लोकप्रिय तथा दीर्घकालीन हास्य शृंखलाहरू निर्माण गरेर घरघरमा परिचित बनेको Media Hub नेपाली मनोरञ्जन उद्योगको प्रभावशाली उत्पादन संस्थामध्ये एक मानिन्छ।
निर्माण पक्षका अनुसार, Media Hub सँगको सहकार्यपछि सिरिजका आगामी एपिसोडहरू अझ व्यवस्थित रूपमा निर्माण तथा वितरण हुने अपेक्षा गरिएको छ। डिजिटल प्लेटफर्ममार्फत नेपाली डायस्पोराका कथाहरू प्रस्तुत गर्ने प्रयासमा ‘मन्कला’ले पछिल्लो समय दर्शकमाझ क्रमशः आफ्नो उपस्थिति विस्तार गर्दै गएको देखिन्छ।






