पोखरा। थकाली युवा परिवार नदिपुरको आयोजनामा थकाली युवा फुटसल कप शुक्रबारदेखि पोखरामा हुने भएको छ। दुई दिनसम्म पोखरा मल्टी–पर्पोज हल रंगशालामा सञ्चालन हुने प्रतियोगितामा पुरुष र महिला दुवै तर्फका टिमहरूको सहभागिता रहनेछ।
प्रतियोगितामा पुरुषतर्फ १२ टिम तथा महिलातर्फ ३ टिम सहभागी हुने आयोजकले जनाएको छ। पोखरासहित काठमाडौं, बुटवल, बेनी, दर्बाङ र मुस्ताङ जिल्लाको थसाङ क्षेत्रका टिमहरूको सहभागिता रहनेछ।

खेलहरू लिग तथा नकआउट प्रणालीमा सञ्चालन गरिने छन्। पुरुषतर्फ विजेताले १ लाख १११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ५५ हजार ५५५ रुपैयाँ हात पार्नेछ। महिलातर्फ विजेताले १५ हजार र उपविजेताले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
यसैगरी प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट गोलकिपरलाई समान ५–५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।
प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशसभा सदस्य विकल शेरचनले शुक्रबार बिहान ९ बजे गर्ने कार्यक्रम रहेको थकाली युवा परिवारका अध्यक्ष ई अनुज शेरचनले जानकारी दिए।






