न्युयोर्क । अमेरिकाको फिलाडेल्फियामा जनवरी १० र ११ तारिखमा मञ्चन भएको नाटक ‘ह्वेन द डे कम्स’ (When the Day Comes) एक नेपाली कलाकारको प्रमुख भुमिकामा सम्पन्न भएको छ ।
उक्त नाटक थियटर ईक्जाइल (Theatre Exile) को प्रतिष्ठित Renters in Exile कार्यक्रमअन्तर्गत मञ्चन भएको थियो। महेन्द्रनगरका बासिन्दा जयन्द्र चिलुवाल ले यस नाटकमा प्रमुख भूमिका निभाएका थिए।

दुई दिनसम्म चलेको नाटकले नेपाली कलाकारहरूको अन्तर्राष्ट्रिय उपस्थितिलाई अझ सशक्त बनाएको छ। अभिनेता चिलुवालले अमेरिकामा प्रस्तुत गरिएको व्यावसायिक रंगमञ्चीय नाटकको प्रमुख भूमिकामा अभिनय गर्दै नेपाली रंगकर्मको अन्तर्राष्ट्रिय यात्रामा एक उल्लेखनीय उपलब्धि हासिल गरेका छन्। खासगरी नेपाली कलाकार यसरी अमेरिका जस्तो व्यावसायिक रंगमञ्चमा नाटकको प्रमुख भूमिकामा देखिने कलाकारहरू अत्यन्तै न्यून मात्रामा छन्।
यस सन्दर्भमा, चिलुवालको यो सहभागितालाई नेपाली रंगकर्मको अन्तर्राष्ट्रिय यात्रामा एक ऐतिहासिक संकेत का रूपमा पनि हेर्न सकिन्छ। When the Day Comes मेटा-थिएटर शैलीको नाटक हो, जसको लेखन तथा निर्देशन मिकेल जाभा ले गरेका हुन्। नाटकका निर्माता टायन सेल्स हुन् भने जो नेलर महिला सह-निर्माताको भूमिकामा रहेकी छन्। नाटकले कला, मृत्युबोध, मित्रता र सृजनात्मक उत्तराधिकारका विषयलाई केन्द्रमा राख्दै एक डकुमेन्ट्री फिल्ममेकर र एक चिकित्सकबीचको कथाबाट मानवीय सम्बन्ध, समय र स्मृतिको अर्थलाई अन्वेषण गरेको छ।

प्रस्तुत गरिएको यस नाटकमा चिलुवालको विपरीत महिला प्रमुख भूमिकामा जेन्नी प्रोफेरा देखिएकी छन्, जसलाई अन्य कलाकारहरू सम्मिलित एन्सेम्बल कलाकार टोली ले समर्थन गरेको छ। नाटक प्रदर्शनपछि कलाकार तथा सर्जक टोलीले दर्शकहरूसँग प्रत्यक्ष रूपमा संवाद गरेका थिए, र दर्शकहरूले यस नाटकको प्रस्तुति उत्कृष्ट रहेको बताएका थिए। दर्शकहरूको यस्तो प्रतिक्रियाका आधारमा भविष्यमा उक्त नाटकलाई संयुक्त राज्य अमेरिकाका अन्य शहरहरूमा पनि प्रस्तुत गर्ने सम्भावनाबारे छलफल भइरहेको जनाइएको छ।

यस नाटकको सृजनात्मक यात्रालाई Care Access नामक मिडिया संस्थाले डकुमेन्टरी का रूपमा अभिलेखीकरण गरिरहेको छ। हाल निर्माण चरणमा रहेको उक्त डकुमेन्टरीले नाटकको विकास प्रक्रिया, कलाकारहरूको अनुभव तथा सृजनात्मक सहकार्यलाई समेट्ने उद्देश्य राखेको बताइएको छ।
नाटकलाई अमेरिकाको पुरानो तथा प्रतिष्ठित पत्रिका The Philadelphia Inquirer ले आफ्नो “Things to Do This Week” सांस्कृतिक खण्डमा समावेश गर्दै फिलाडेल्फियाको प्रमुख कला कार्यक्रमका रूपमा चिनाएको थियो।

चिलुवालले केही नेपाली चलचित्रमा अभिनयका साथै दर्जनौँ छोटो फिल्म, डिजिटल सिरिज तथा कमर्शियल कार्यहरूमा पनि अभिनय गरिसकेका छन्। अमेरिकाको ३६ वटा राज्यमा हेर्न सकिने केबल टेलिभिजन सिरिज A Good Cop मा उनी अभिनय भइसकेका छन् भने ‘Left of the Dial’ नामक वेब सिरिजमा प्रमुख कलाकारका रूपमा अभिनय गरेका थिए। उक्त वेब सिरिजले अमेरिका सहित अन्य देशहरूमा थुप्रै अवार्डहरू पनि जितेको बताइएको छ। साथै, उनले The Cafone नामक टेलिभिजन पाइलटमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्, जसले Marina del Rey Film Festival मा Best Pilot को पुरस्कार प्राप्त गरेको थियो।

चिलुवाल सह-लेखक तथा अभिनेता रहेको छोटो फिल्म Love in the Rain (२०१९) २०२० मा Los Angeles Asian Pacific Film Festival मा प्रदर्शन गरिएको थियो। उक्त फिल्मले Feel the Real International Film Festival मा Best Screenplay पुरस्कार प्राप्त गरेको थियो भने Five Continents International Film Festival मा Best Indie Short पुरस्कार जितेको थियो। यसअघि उनले Are You Psycho (२०१७) नामक छोटो फिल्मको creative development मा पनि योगदान दिएका थिए, जसले 60 Second Short Film Fest मा Best Short Film पुरस्कार जितेको थियो र University of Southern California Green Engagement Fund बाट अनुदान प्राप्त गरेको थियो।
सन् २०२५ मा चिलुवाललाई Civil Society for Social Transformation द्वारा प्रदान गरिने Special Citizen Actor Award बाट सम्मानित गरिएको थियो। सोही वर्ष उनलाई Second National OPSANA Films and Music Awards 2025 मा Best Actor (Diaspora) पुरस्कार पनि प्रदान गरिएको थियो। यी दुवै पुरस्कारहरू स्वतन्त्र निर्णायक मण्डलद्वारा मूल्यांकनका आधारमा प्रत्येक वर्ष एक मात्र कलाकारलाई प्रदान गरिने प्रतिष्ठित सम्मान हुन्।
नेपाली डायस्पोराका दर्शकहरूका लागि चिलुवालको यो उपलब्धि अन्तर्राष्ट्रिय रंगमञ्चमा नेपाली कलाकारहरूको सीमित उपस्थितिलाई विस्तार गर्ने दिशा मा एक महत्वपूर्ण मोडको कोशेढुङ्गाको रूपमा देखिएको छ।






