मार्च १६, न्यूयोर्क ।
नेपालको प्रथम सहिद लखन थापा मगरको १४८औँ स्मृति दिवस शनिबार अमेरिकाको न्यूयोर्कमा पनि मनाइएको छ ।
जनजाति महासंघ अमेरिका फिप्नाको आयोजनामा नेपाल सरकारको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री मा. नोवल किशोर साह सुडी ज्यूको प्रमुख अतिथि र विशेष अतिथि प्रतिनिधि सभा सदस्य मा. सुशीला श्रेष्ठ, मा. कमला बिश्वकर्मा सहित विभिन्न जातीय संस्थाहरू र सामाजिक सेवामा अग्रणी भुमिका निभाउने सामाजिक अभियन्ताहरूको उपस्थितिमा सहिद लखन थापा मगरको फोटोमा फूल तथा खादा माल्यार्पण सहित दीप प्रज्वल सहित एक मिनेट मौनधारण कार्यक्रम गरि शुभारम्भ गरिएको थियोे ।

नेपालको इतिहासमा प्रथम शहीदको गरिमामय स्थान प्राप्त गरेका लखन थापा मगरको जन्म वि.सं.१८९१ सालमा गोरखाको बुङकोट–४ काहुले भञ्ज्याङमा भएको थियो । देश र जनताको मुक्ति र स्वतन्त्रताको लागि जहानिय तानाशाहि अधिनायकबादी शासनको विरुद्ध मा आवाज उठाएका कारण उनलाई वि.सं. १९३३ फागुन २ गते तत्कालीन राणा शासकले बुंकोटको काहुले भंगारमा मनकामना मन्दिरको परिसरमा लखन थापा र उहाँका सहकर्मी जैसिं चूमि मगरलाई फाँसी दिई हत्या गरेका थिए । नेपालमा ज्ञात अज्ञात सहिदहरु छन् । जस अनुसार नेपालमा अहिले सहीद भन्नाले वि.स.१९९७ सालमा सहीद भएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई मात्र बुझ्ने गरिन्छ । महासंघको सल्लाहकार कुलदीप रानामगरले लाफाखबरलाई बताउदै भन्नुभयो “तर यी चार सहीदहरुका पनि प्रेरणाका स्रोत बनेका क्याप्टेन लखन थापा मगरलाई जनजाति समुदायको भएको कारणले अझैपनि राज्यले प्रथम सहिद भन्न हिच्किचाईरहेको छ ।”

कार्यक्रममा बोल्दै नेपाल सरकारको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सम्माननीय मा. नोवल किशोर साह सुडी ज्यूले देशकै प्रथम सहिद लखन थापामगरको अमेरिकामा पनि नेपाली समुदायहरूले यसरी सहिदको सम्झना गरेर कार्यक्रम गर्ने गरिएकोमा आफुलाई एकदमै गौरान्वित लागेको र शहीद लखन थापामगरले गर्नु भएको योगदानको कदर गर्दै जनजाति, दलित, मधेसीहरू पनि आफ़नो अधिकार स्थापित गर्नको लागि एकजुट भई आगाड़ी बढनुको विकल्प नरहको बताउनुभयो ।
उक्त कार्यक्रममा विशेष अतिथिको बक्ताको रूपमा रहनु भएको प्रतिनिधि सभाको सदस्य मा. सुशीला श्रेष्ठले प्रथम शहीदको मार्ग दर्शन र त्यागको सम्मान गर्दै हाल नेपाल समसामयिक राजनीतिको बारेमा आफ़नो धरणा व्यक्त गरी सिंगो लिम्बु जातिको संस्कृति सम्पदा मुकुम्लुङमा सरकारलाई हस्तक्षेप नगर्न चेतावनी दिनु भयो। यदि जबरजस्ती गरी केवलकार निर्माण गरीएमा दीर्घकालीन संचल नहूने र दैवी शक्तिले निर्माणाधीन व्यक्तिलाई असर हूने बताउनु भयो । यसै गरी बिशेष अतिथिको रूपमा रहनु भएकी मा. कमला बिश्वकर्माले प्रथम शहीदलाई वर्षमा एक पटक मात्र नभाई हरेक दिन समयमा सम्झनको लागि लखन थापाको नाममा स्वास्थ तथा शैक्षिक संस्था स्थापना गर्नु पर्ने बताउनु भयो ।

संस्थाको अध्यक्ष तोरण गुरुङ को अध्यक्षातामा महासचिव दीपक चौधरीले कार्यक्रम संचालन गरेका थिए भने संस्थाको सचिब शान्ति गुरुङले सहभागीहरूलाई स्वागत गर्नु भएको थियो। हरेक बर्ष झैं फिप्नाले प्रथम शहीद लखन थापा मगरको स्मृति दिवस मनाउँदै आईरहेको थियोे भने यस बर्ष पनि कार्यक्रमलाई निरन्तरता दिएको हो ।






