पोखरा, २४ फागुन ।
नवौं पोखरा स्पोर्टस् अवार्डको मिति तय भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आगामी वैशाख २० गते अवार्ड गर्ने निर्णय गरेको हो ।
अध्यक्ष एमबी आस्थाको अध्यक्षतामा बसेको बैठकले विश्व प्रेस स्वतन्त्रता दिवस अवसरमा उक्त मितिमा कार्यक्रम गर्ने निर्णय गरेको उपाध्यक्ष राजाराम पौडेलले जनाएका छन् ।

विगतमा झैं यस वर्ष पनि ७ विधामा अवार्ड दिइने मञ्चले जनाएको छ । लाइफटाइम अचिभमेन्ट अवार्डसहित वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला मुख्य विधा हुन् ।
यस्तै, वर्ष प्रशिक्षक, उदीयमान खेलाडी, खेलकुद संघसंस्था वा क्लब र खेल पत्रकारलाई अवार्ड प्रदान गरिने छ । वर्ष उत्कृष्ट खेलाडी (महिला/पुरुष), प्रशिक्षक, उदीयमान खेलाडी विधामा उत्कृष्ट ३ मनोनयन सूचीबाट जुरीको निर्णय आधारमा मूल समारोहमा सर्वोत्कृष्ट १ जनाको नाम घोषणा गरिनेछ ।
गत आठौं संस्करणमा इन्द्रा मल्ललाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको थियो । वर्ष खेलाडी पुरुषतर्फ अर्जुन कुमाल (क्रिकेट), महिलातर्फ सुस्मिता थापा मगर (आइटिएफ तेक्वान्दो) हुन् । उनीहरुले टेल्जी नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र अवार्ड प्राप्त गरेका थए ।
उदीयमान खेलाडीको अवार्ड दिलासा राना (ब्याडमिन्टन) र वर्ष प्रशिक्षकको अवार्ड रमेश केसी (भलिबल), ले प्राप्त गरेका थिए । सहारा क्लब पोखराले संघसंस्था वा क्लबतर्फकाे अवार्ड प्राप्त गर्दा रोहितराज पराजुलीले खेल पत्रकारको अवार्ड थापेका थिए । पोखरा सभागृहमा भएको समारोहमा उनीहरुलाई जनही ३५ हजार र अवार्ड दिइएको थियो ।
खेलकुद पत्रकारको हकहितका लागि २०५७ सालमा स्थापित मञ्चले यस अलावा खेलाडीकाे योगदानको कदर गर्दै राजधानीबाहिर पहिलोपल्ट पोखरामा १० वर्ष पहिले स्पोर्टस् अवार्ड गरेको थियो । पुरस्कारका लागि कार्यक्षेत्र गण्डकी प्रदेशभर हुनेछ ।
