फागुन, १९ पोखरा ।
पोखरामा जारी एनसेल फाउन्डेसन लिटरेचर फेस्टिभलको चौथो तथा अन्तिम दिन आइतबार निकै महत्वपूर्ण सेसन भए । ‘एआई, विघटन र मानवताको भविष्य’ शीर्षकमा अलिमिया कक्षमा भएको सेसन झन् पेचिलो बन्यो ।
सेसनमा सहजकर्ताका रुपमा सञ्चार, सूचना तथा प्रविधि लगायत बिटमा कलम चलाउँदै आइरहेकी सजना बराल थिइन् भने वक्ताका रुपमा दोभान राई, बालकृष्ण बल र विकास गुरुङ सहभागी थिए । वक्ताका रुपमा सहभागी तीनै जना टेक्नोलोजीको विषयमा जानकार छन् र यही विषयमा उनीहरुले अध्ययन पुरा गरेका हुन् । प्रविधिको दुनियाँमा रमाउँदै आइरहेका नयाँ र पुराना पुस्ताका लागि जानकारीमूलक सेसन बनेको छ यो सेसन ।
वक्ताका रुपमा रहेका तीनै जनालाई सहकर्ता बरालको प्रश्न थियो ‘एआईको विश्वब्यापी प्रभाव कस्तो छ ?’ प्रश्नको जवाफ दिँदै दोभान राईले भनिन्, ‘एआईको प्रभाव विश्वब्यापी रुपमा परिरहेको छ, अहिलेको समयमा यो सबैभन्दा शक्तिशाली र प्रभावशाली टेक्नोलोजी हो ।’
कहीं न कहीं एआईले व्यक्तिको मानसिक अवस्थालाई समेत असर गरिरहेको राईको बुझाई छ । हुन न हरेक विषयका सकारात्मक र नकारात्मक पाटा हुन्छन्, एआईको पनि छ । यसको सही सदुपयोग कसरी र कुन तरिकाले गर्ने भन्ने कुरा महत्वपूर्ण रहेको राईको भनाई छ । नयाँ टेक्नोलोजीको विकाससंगै पुरानो विस्थापित हुनु स्वभाविक रहेको उनले बताइन् । कहिलेकाहीं राई आफैंलाई नयाँ–नयाँ प्रविधि भित्रिरहँदा मानिसको अस्तित्वमाथि चुनौती आउँछ कि झैं लाग्छ । तर एआई लगायतका प्रविधिलाई कसरी र कुन आधारमा प्रयोग गर्ने भन्ने विषयमा जानकारी लिएर मात्रै प्रयोग गर्न सक्यो यस्तो समस्या नआउने उनको बुझाई छ । ‘अहिलेको प्रविधिलाई महाभारतमा अनेकौं अस्त्र खसेको जस्तो दैवी शक्तिले खसालेको होइन, हामी आफैले बनाएका होइनौं ।’ उनी भन्छिन्, ‘हामीले कस्तो स्रोतसाधन कसरी र कहाँ प्रयोग गर्ने कहाँ नगर्ने भन्ने करामा आफैं विवेक प्रयोग गर्नुपर्छ ।’
नयाँ–नयाँ प्रविधिसंग रुबरु भएर हुर्काइएका अहिलेका नयाँपुस्ता परिवार, समाज, आफन्तभन्दा प्रविधिसंग नजिक हुन थालेका छन् । इन्टरनेट उनीहरुको दुनियाँ बन्न थालेको हामीले आफ्नै अगाडि उदाहरण देख्न थालेका छौं । यही कारणले गर्दा बालकृष्ण बललाई घरीघरी मानिसलाई यस्ता प्रविधिले पूर्ण तरिकाले रिप्लेस गर्छ कि भन्ने डरले सताउने गर्छ । ‘कहीं न कहीं मेरो डर सत्य हो, किन कि हामीले एआईकै कारण धेरैले जागिर गुमाइरहेको देखेका छौं ।’ उनी भन्छन् । बलको विचारमा एआई भनेको कृतिम बौद्धिकता हो र यसमा मानवीय स्वभाव जस्तै सही समयमा सोच्न सक्ने, सिक्नुपर्ने र निखारिने क्षमता हुनुपर्छ ।
एआई नेपालमा भर्खरै प्रवेश गरेको जस्तो धेरैले अनुभव गरेको भएपनि यो सत्य नभएको उनको भनाई छ । ‘धेरै समय अगाडि हाम्रो देशमा प्रवेश गरेको हो, तर अहिले पनि यो सुरुआती र विकसित चरणमै छ ।’ बलले भने । प्रविधिका कुरामा नेपाल अझै पछाडि रहेकोमा भने उनको गुनासो छ । आफैले प्रविधिमा नयाँ–नयाँ प्रयोग गर्न सके देशकै लागि उत्कृष्ट उदाहरण बन्न सक्ने उनको भनाई छ । प्रविधि र मानिस छुट्टाछुट्टै जाने अवस्था नभएको उनले बताए । संगै मिलेर जान सकेको खण्डमा विकासशील देशलाई सहज हुने उनको भनाई छ । तर केही नयाँ प्रविधि आफैले विकास गर्न तर्फ उन्खुम हुनपर्नेले उनले जोड दिए । ‘अर्काले बनाएको एआई चलाएर मख्ख हुने होइन, हामी आफैंले पनि नयाँ टुल्स ल्याउन सक्नुपर्यो ।’ बल भन्छन् ।
विकास गुरुङ रोबोटिक्स एसोसियसन अफ नेपालका अध्यक्ष एवम् इन्जिनियर हुन् । रोबोटिक्स, अटोमेस र डिजिटल प्रविधिका विषयमा जानकार हुन् गुरुङ । उनै गुरुङ एआई र रोबोटको विषयमा भएको सेसनमा आइतबार सहभागी बनेर आफ्नो भनाई व्यक्त गरे । सूचना प्रविधिको क्षेत्रमा नेपालले आफूलाई आवश्यक पर्नेभन्दा धेरै छिटो रुपमा फड्को मारिरहेका उनी आफैंले अनुभव गरेका छन् । ‘जसरी एआई र रोबोटिक्स विकास भइरहेको छ, त्यसलाई हेर्ने हो भने नेपालमा सिक्ने क्रम धेरै विकसित भइरहेको छ भन्ने बुझ्न सकिन्छ ।’ सेसनमा उनले भने, ‘सिक्ने तरिका राम्रो छ । तर कुनै पनि टेक्नालोजी सिकिरहँदा नकारात्मक र सकारात्मक दुवै हुन्छन्, त्यसलाई बुझ्नु आवश्यक छ, चुनौती धेरै छन् ।’
टेक्नोलोजीको विषयमा नयाँ पुस्ताले जानकारी पाउन सके अवसरको ढोका स्वतस्फूर्त रुपमा खुल्ने उनले बताए । परिर्वतित समयमा टेक्नोलोजीको साथसाथ जान सके मानवीय जीवनमा धेरै सहजता हुने गुरुङ बताउँछन् । ‘कुनै पनि कुरालाई प्रयोग नगरेसम्म नकारात्मक र सकारात्मक भाग देखिदैन । रोबोटिक्सलाई प्रयोग गर्दा कमन सेन्सलाई ध्यान दिनुपर्छ । नेपाल मात्रै होइन, विश्वभरीका व्यक्तिलाई कसरी प्रयोग गर्न चाहनुहुन्छ भन्ने बुझाउनुपर्छ ।’ उनी भन्छन्, ‘विद्यार्थीले अहिले सजिलै रोबटिक्स कुरा सिकिरहेका छन् । अहिले विद्यार्थी आफैले रोबोट बनाउँछन्, यसबाट नेपाली विद्यार्थीले सजिलै सिक्न सक्ने क्षमता राख्छन् भन्ने बुझ्न सकिन्छ ।’






