नेपाल लिटरेचर फेस्टिभल : ‘साहित्यकार बन्न उत्साह थपिएको छ’

फागुन, १८ पोखरा ।
साहित्यकार ज्ञानु पाण्डेले ‘बाह्रखरी कथा’ प्रतियोगिताले साहित्यमा परख नभएकालाई पनि आकर्षित गराएको बताएकी छन् । बाह्रखरी डटकमले गर्ने प्रतियोगिताले राम्रा कथाकार जन्माएको उनको भनाइ छ ।
‘लेख्दा लेख्दै मान्छे पारख भएर आउने हो । साहित्यकार बन्नलाई मान्छेलाई उत्साह र माध्य दिएको छ’, उनले भनिन् । कथाकारलाई प्रोत्साहन गरेको र भोलिको पुस्ताको स्थापित कथाकार तयार पारिरहेको उनको दाबी छ ।
पोखराको लेकसाइडमा जारी १२ औं संस्करणको एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभल अर्न्तगत आइतबार अलिमियाँ कक्षमा ‘कथाखरी–बाह्रखरी–२०८१’ शेसनमा अन्तरक्रिया गर्दै पाण्डेले पछिल्लो समयमा साहित्यिक क्षेत्रमा असाहित्यिक मान्छेलाई पनि रुची बढेको बताइन् ।
‘साहित्यिक वृत्तमा असाहित्यिक मान्छेलाई पनि रुची बढेर गएको छ ।  मान्छेको असन्तृष्टि अनुभूतिहरु अझै धेरै बाक्लिएर गएको छ’, उनले भनिन्, ‘जानेको कुरालाई अभिव्यक्ति दिनलाई मञ्च नपाइरहेको अवस्थामा गैरसाहित्यिक क्षेत्रका मान्छेहरु साहित्यप्रति आकर्षित भइरहेको अवस्था छ । यो एउटा महत्वपूर्ण कुरा छ ।’
साहित्य मनलाई अत्यास लागेको बेला उर्वर र भरिलो बनाउने माध्यम रहेको उनले उल्लेख गरेकी छन् । उनी थप्छिन्, ‘अहिले अरु क्षेत्रका मान्छे पनि जब सकस हुन्छ कवितामा कलम उठाउने, साहित्यका किताब पढ्ने भएर जाने भाछन् । साहित्य गर्व गर्ने विषय बनेको छ ।’  राज्यले पनि साहित्यलाई महत्व दिन थालेको उनको भनाइ थियो ।
साहित्यकार र लेखक हुनलाई भावना र अनुभूतिसँगै प्रस्तुति पनि चाहिने पाण्डेले उल्लेख गरिन् । ‘प्रस्तुतीकै कारणले सामान्य कुरा पनि रोचक हुन्छ र हामी आकर्षित हुन्छौं’, उनले भनेकी थिइन् ।
साहित्यकार नयनराज पाण्डेले सहजीकरण गरेको शेसनमा ‘कथाखरीः बाह्रखरी–२०८१’ की निर्णायक ज्ञानु पाण्डेसँगै प्रतियोगिताको विजेता विष्णु पादुका र तेस्रो स्थान हासिल गरेका विवेक धमलाले सहभागी थिए ।
विष्णु पादुकाले लेख्नलाई विषय यथेष्ट रहेको तर्क गरे । ‘कथा हामीले हेर्दाखेरि लगभग लेख्न विषय सक्किएका हुन् की भन्ने महशुस हुन्छ एउटा कोणबाट हेर्दा । त्यो होइन रहेछ यति कथा छन् की लेख्न नै बाँकी छन् कति’, पादुकाले भने । उनले लेखेर बलियो तरिकाले प्रस्तुत गर्नुपर्नेमा जोड दिए ।
अर्का कथाकार धमलाले कथाले समाज बोल्नुपर्ने बताए । उनी आफूलाई अनुभव भएको विषय नलेखेसम्म मन हलुका नहुने सुनाए ।

Advertisment