नेपाल लिटरेचर फेस्टिभल :हामीले चीनलाई कतिसम्म बुझेका छौं ?

फागुन, १८ पोखरा ।
लेखकद्वय सुधीर शर्मा र अमिश मुल्मीले आइतबार पोखरामा ‘हामीले चिनेको चीन’ संवार्ता गरे । एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलको अन्तिमको दिनको सेसनमा शर्मा र मुल्मीले ‘हामीले चीनलाई कतिसम्म बुझेका छौं’ भन्ने विषयमा चर्चा गरे ।
लेखक तथा कान्तिपुर दैनिकका पूर्वप्रधान सम्पादक शर्माले चीनलाई जसरी बुझ्‌नुपर्ने हो त्यसरी बुझ्‌न नसकेको टिप्पणी गरे । भाषा, संस्कृतिसहित धेरै हिसाबले चीन फरक रहेकाले बुझ्‌न कठिन हुने उनको तर्क थियो ।
‘धेरै चर्चामा, पत्रपत्रिकामा, अनलाइनमा यसो हेर्‍यो भने चीनको चर्चा धेरै भएको देखिन्छ,’ उनले भने, ‘खास कुरा के हो ? चीनसँगको सम्बन्ध के हो त ? भन्ने कुरामा हाम्रो, पत्रकार, लेखक, नीति बनाउनेको, राजनीतिक तहको बुझाई सर्फेरियल नै छ कि भन्ने लाग्छ । हामीले बुझ्‌न सकेका छैनौं कि जस्तो लाग्छ ।’
शर्माले चीन आफ्‌नै समाजमा रुमल्लिएको जिकीर गरे । नचाहे पनि नेपालले चीनसँगको सम्बन्ध अगाडि बढाउने अवस्था रहेको शर्माले सुनाए ।
‘चीन अलिकति आफ्‌नै समाजमा रुमल्लिने वाला भएको कारणले पनि होला । तर, हिजोसम्म यसले फरक पार्दैनथ्यो,’ उनले भने, ‘अब चाहिँ हाम्रो चीनसँगको सन्बन्ध बढिराखेको छ । हामीले चाहेपनि नचाहेपनि सम्बन्ध अगाडि बढाउनुपर्ने अवस्था छ । एउटा विश्वशक्ति भएर आइराखेको छ ।’
नेपालीले सन् १९५० पछिको चीनसँगको सम्बन्धका कुराहरु मात्रै गर्ने गरेको उनको दाबी छ । ‘कहिलेकाहि मलाई लाग्छ कि चीनलाई हामीले यति चिनेका छौ कि हामीले उहाँहरुको शब्द पनि प्रयोग गर्न थालेका छौं । भर्खरै प्रधानमन्त्रीज्यू फर्किनुभयो । अबदेखि तिब्बत होइन, सिजाङ भनेर बोलाउनुपर्‍यो । यस्तो गरेर के हुन्छ भने चाहिँ हाम्रो ऐतिहासिक सम्बन्धहरु छ,’ उनले भने ।
उनले थपे, ‘भूतपारीको, नेवार व्यापारीहरुको यो इतिहास हामीले अगाडि बढाउँदैनौं । चीनको कुरा गर्छौ । हामीले खाली एउटा १९५० पछिको नाता छ नि । त्यसलाई मात्रै त्यसलाई मात्रै लिएको देखिन्छ ।’ 

विश्वस्तरमा लेखिएका किताब, गरिएका अध्ययनबाट पनि चीनलाई बुझ्‌न एकदमै कठिन भएको जनाउने गरेको शर्माले उल्लेख गरे । ‘नर्मल्ली पनि चीनको बारेमा विश्वस्तरमा लेखिएका किताबहरु, गरिएका अध्ययनहरु हेर्ने हो भने पनि चीनलाई बुझ्‌न एकदमै कठिन छ भन्ने इन्टरपेटेसन हुन्छ,’ उनले भने, ‘भाषाका कारणले, संस्कृतिका कारणले धेरै हिसाबले उनीहरुको भाषाको जुन लिपिको शैली छ । त्यो पनि फरक छ । यो सबै कुराले चीनलाई बुझ्‌न अलिकति अप्ठ्यारो छ ।’
लेखक तथा विश्लेषक अमिश मुल्मीले नेपाल अमेरिकन वर्ल्डभन्दा पनि ‘सियोफियर’ वर्ल्डतिर गइराखेको बताए । ‘मलाई के लाग्छ भने नेपाल चाहिँ ‘सियोफियर’ वर्ल्ड छ । त्यसमा जोड्न गैराखेको छ । हामीले धेरै कुरामा हेर्‍यौंं भने अमेरिकन वर्ल्डभन्दा पनि ‘सियोफियर’ वर्ल्डतिर गइराखेको जस्तो लाग्छ मलाई,’ उनले भने ।
मुल्मीले इम्प्लेमेसनमा समस्या हुँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले यो समस्या भोग्नुपरेको जिकीर गरे । ‘मलाई के लाग्छ भने इम्प्लेमेसनको समस्या भएको जस्तो लाग्छ । जुन हिसाबले पार्दशितता हुनुपर्ने हो । त्यो भएन । डिजाइन्, प्लानिङदेखि फन्डिङसम्ममा जुन हुनुपर्ने हो त्यो हुन सकेन । त्यसका कारण अहिले भोग्नुपरेको छ,’ उनले भने ।
लेखक शर्माले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चलाउन सरकार र सिंहदरवारलाई प्रेसर दिने बेला आएको बताए । उनी भन्छन्, ‘तपाईंहरुले फेरि जसरी एयरपोर्ट बनाउनका लागि काठमाडौंलाई जसरी घचघचाउनुभयो त्यहाँसम्म गएर र्‍याली निकालेर । अब एक पल्ट सबै लागीपरेर सरकार, सिंहदरवारलाई मज्जाले नै प्रेसर दिने बेला आयो की जस्तो लाग्छ ।’
विदेशी कम्पनीले चलाउने भन्ने कुरा बनाउनुअघि नै सोच्नुपर्नेमा लेखक मुल्मीले जोड दिए । ‘चाइनिज कम्पनीले चलाउने, इन्डियन कम्पनीले चलाउने, अमेरिकन कम्पनीले चलाउने यो त बनाउनुभन्दा पहिले नै सोच्नुपर्ने कुरा हो । एयरपोर्ट बनेपछि सोचेर त भएन नि त,’ उनले भने ।

Advertisment