खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा ९ मत अन्तरले एमबि आस्था निर्वाचित !

पोखरा, माघ ११ गते
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको छैटौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट अध्यक्षमा एम बि आस्था निर्वाचित भएका छन् । बिहिबार सम्पन्न तेस्रो अधिवेशन तथा छैटौँ साधारणसभाले एमबी आस्थाको नेतृत्वमा १३ सदस्यीय कार्य समिति चयन गरेको हो ।

आगामी २ वर्षे कार्यकालका लागि बिहीबार भएको मतदानमा उनले अध्यक्षका प्रत्यासी सुरज श्रेष्ठलाई ९ मात्र मत अन्तरले पराजित गरेका हुन् । उनले ३६ मत ल्याए भने सुरजले २७ मत ल्याए । सुरज यसअघि कार्यसमितिका उपाध्यक्ष थिए भने एमबि आस्था सदस्य थिए ।
कार्य समिति उपाध्यक्षमा राजाराम पौडेल र कोषाध्यक्ष विमल तिवारी निर्विरोध भएका थिए । समावेशी उपाध्यक्षमा उमा आले मगर, महासचिवमा परशुराम शर्मा आचार्य र सचिवमा राजु गिरी निर्वाचित भए । उमाले ३६ मत ल्याउँदा उनका प्रत्यासी राधिका कँडेलले २७ मत ल्याइन् ।
महासचिवमा निर्वाचित परशुराम शर्माले ३८ मत ल्याउँदा उनका प्रत्यासी लक्ष्मी जिसी पल्पसाले २५ मत प्राप्त गरेकी छन् ।
सचिवमा निर्वाचित राजुले ४१ मत ल्याएका हुन् । उनका प्रत्यासी कविता घर्तीमगरले २३ मत प्राप्त गरेकी छन् ।
सदस्यमा कृष्ण दवाडी, चेतबहादुर थापा (प्रवीण), बसबहादुर शेर्पा (बसन्त), रिखीराम जिसी, विजय नेपाली, गिता राना र बालकुमारी पौडेल (तारा) निर्विरोध भए । कुल ७४ मतदातामध्ये निर्वाचन प्रक्रियामा ६४ जनाले भाग लिएका थिए ।
अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भएपनि केही पदमा सहमति हुन नसकेपछि चुनाव गरिएको महासचिव राजाराम पाैडेलले बताए । उनका अनुसार अध्यक्ष, महिला उपाध्यक्ष, महासचिव र सचिवमा निर्वाचन भएको र अन्य पदमा सहमति जुटेको थियाे ।

Advertisment